Everest Law Chamber
Books and Publications

Books and Publications

बुबाको जीवनी तथा स्मृति पुस्तिका

PDF BOOK WITH PICTURES

हाम्रो भन्नु

बुबाले आफ्नो जीवनकालमा भोगेका पुराना कुराहरु हामी निकै चासोका साथ सुन्थ्यौं । कस्तो जमाना रहेछ भन्ने लाग्थ्यो । उहाँले भोग्नु भएको, संघर्ष गर्नु भएको र अनुभव गर्नु भएको कुराहरु समेटेर लिपिबद्ध ग¥यो भने पछिल्ला पिँडीहरुलाई बुझ्न र जान्न शिक्षाप्रद र रमाइलो हुन्छ भन्ने लाग्यो । त्यसको लागि करिब २० बर्ष अघिदेखि नै टिपोट गर्ने गरेका थियौं । बुबा चौध पन्ध्र दिन हिंडेर नुन लिन जानु पर्ने, घाँस दाउरा गर्दै जीन्दगी गुजार्नु पर्ने, आर्थिक श्रोत जुटाउन निकै संघर्ष गर्नुपर्र्ने अवस्था थियो । त्यस्तै १४ भाइबहिनीहरु मध्ये अधिकांश कम उमेरमै गुमाउनु परेको पीडा बुबाले भोग्नु भयो । निरक्षर र दुर्गम गाउँको सामान्य किसान भएर पनि छोराहरुलाई मात्र भए पनि पढाउन सफल भएको, देश विदेश घुमेको, एउटै जीवनमा अकल्पनीय परिवर्तन देख्न सफल भएको बुबाको अनुभव र भोगाइ र उहाँको कहिल्यै नरिसाउने र कसैलाई बचन नलगाउने बानी सम्झन र मनन गर्न लायक छन् । जस्तो सुकै समस्यालाई पनि सहजरुपमा लिने, हडबड नगर्ने र क्रोध नदेखाउने, आफूलाई एउटा अनुशासनमा राख्ने जस्ता उहाँका बानीहरु थिए । अरुलाई सहयोग गर्दा निकै आनन्दको महशुस गर्नु हुन्थ्यो । बुबाले बताउनु भएको र हामी तीन भाइले लिपिबद्ध गरेको यस पुस्तिकाबाट कुनै न कुनै रुपमा ज्ञान हासिल गर्न सकिन्छ भन्ने लाग्दछ ।

९८ बर्षे बुबा जीवितै हुँदा गाउँ टोल छरछिमेक नातेदारहरुबाट औधी माया पाउनु भयो । मरणोपरान्त पनि बुबालाई श्रद्धाञ्जली दिने, समवेदना र दुःख प्रकट गर्ने शुभचिन्तकहरुको ओइरो नै लाग्यो । यस पुस्तिकामा हामीहरुले बुबाको भोगाइ र सुखदुःखका कुराहरुको अतिरिक्त उहाँका शुभचिन्तकहरुले व्यक्त गर्नु भएका केही भनाइहरु, तस्विरहरु, समवेदना सन्देशहरु समेत समावेश गरेका छौं । शुरुवाती अवस्थामा एउटा जीवन कथाको रुपमा पुस्तक प्रकाशन गर्ने विचार गरेका थियौं तर पछि पढ्न सजिलो, सर्वसुलभ र शुल्करहित हुने हुनाले हामीहरुले विद्युतीय पुस्तक अर्थात अभौतिक पुस्तकको रुपमा सार्वजनिक गर्ने निधो ग¥यौं । क्रमिक रुपमा बुबाले गर्नु भएका र भन्नु भएका कुराहरु तथा तस्विर र भिडियोहरु थप गर्दै जाने छौं । यसलाई केही समय पछि विस्तारित रुपमा र अंग्रेजी भाषामा पनि उल्था गरी पाठक समक्ष ल्याउने छौं । पाठकहरुले आफूलाई रुचिको कुनै शीर्षक मात्र वा पुस्तिकाको पुरै अंश पनि पढ्न सक्नु हुनेछ ।

यस पुस्तिका तयार गर्न अहोरात्र खटेर डिजाइन तथा साजसज्जा गर्न, टाइप गर्न सहयोग गर्नुहुने हाम्रा भानिज मोति मरासिनी, वेवसाइट तयार गर्न र अन्य प्राविधिक पक्षहरुमा सहयोग गर्ने छोरा÷भतिज आशिष अर्याल धन्यवादका पात्र हुन । बुबाको बारेमा आफ्ना अनुभव लेख्नु हुने र हरेक कुरामा हृदयदेखि सहयोग गर्ने श्री कुलराज ज्ञवाली र श्री टंकप्रसाद पन्थीलाई विशेष धन्यवाद दिन चाहन्छौं । साथै यो पुस्तिका तयार पार्न सहयोग गर्ने परिवारका सम्पूर्ण सदस्यहरु, इष्टमित्रहरु, नातागोता, कुटुम्बहरुलाई हार्दिक कृतज्ञता प्रदान गर्दछौं । बुबाको श्रद्धाञ्जलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहभागी विभिन्न संघ, संस्था तथा महानुभावहरुप्रति आभार प्रकट गर्दछौं ।

यस पुस्तिकाका बारेमा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउन सक्नुहुनेछ । 

बुबाको जीवनी तथा स्मृति पुस्तिका तयार गर्ने छोराहरु

नित्यानन्द अर्याल

झविन्द्रप्रसाद अर्याल

डोरनाथ अर्याल

विषयसूची

पहिलो भागः आत्मकथा

मेरो संक्षिप्त परिचय               १

मेरा दाजु भाइ र दिदीबहिनीहरु          १

मेरो विवाह र छोराछोरीको जन्म          ३

मेरो कामकाज र दिनचर्या             ४

आगोलागिको मुद्दा            ६

छोराछोरीको पढाइ            ८

छोराको लागि पैसा खोज्दा       १०

माइला छोराको जागिर          ११

ठूला छोराको विदेश भ्रमण      १२

कान्छो छोराको पढाइ तथा जागिर         १३

घर निर्माण      १४

ठूली छोरीको विवाह        १४

छुट्टिभिन्न/खेतिपाती          १५

हराएको भैंसी खोज्न जाँदा             १८

माइली र कान्छी छोरीहरुको विवाह        १८

कान्छा छोराको पढाइ          १९

तीर्थ ब्रत र यज्ञ यज्ञादिहरु         १९

दाजु, आमा र दाजुको छोराको मृत्यू र आर्थिक समस्या            २३

माइला छोरासँग साउदी अरेविया जाँदा      २४

गुल्मीबाट काठमाडौं आगमन              २५

माइला छोरासँग बेल्जियमको भ्रमण     २६

कान्छो छोरासँग ल्हासाको भ्रमण                 २७

बेलायतको भ्रमण           २८

कान्छा छोरासँग डेनमार्कको पहिलो भ्रमण   २९

पुराना चिठी÷समाचारहरुका कुरा        २९

राजाको टीका र प्रधानमन्त्रीलाई भेट्ने रहर पूरा           ३०

प्रधानमन्त्री प्रचण्डसँग भेट        ३०

नातिनातिना र पनातिपनातिना         ३१

नुन लिन जाँदा भोगेका दुःख            ३१

मैले गरेका दाहसंस्कार काज–किरिया            ३२

मेरो विवाह तथा श्रीमती भुवनश्वरीको कुरा           ३२

भुवनेश्वरीको मसँग विवाह हुनु पूर्वको कुरा        ३३

बाल्यकालका केही रोचक कुराहरु         ३४

थाइल्याण्डको भ्रमण         ३७

ओमानको भ्रमण           ३८

भेन्टिलेटरमा उपचार पछि पुनर्जीवन     ३८

दोश्रो पटकको डेनमार्क भ्रमण         ३९

म इजिप्टमा विरामी परेको           ४०

इजिप्टको पछिल्लो विदेश भ्रमण         ४०

इजिप्टबाट नेपाल फर्कने दिन श्रीमती प्लेनमै बेहोस    ४१

मेरा अन्तिम ईच्छाहरु          ४३

मेरा सन्ततिहरुलाई सन्देश         ४४

दोस्रो भागः स्मृतिका पानाहरु          ४५

बुबाप्रति भावपूर्ण श्रद्धाञ्जली     ४७

निर्मल मन र दैबी गुण भएका लोकनाथ ५२

श्रद्धेय अर्याल बुबालाई सम्झँदा           ५९

पहिलो भाग

लोकनाथ अर्यालको आत्मकथा

मेरो संक्षिप्त परिचय

सम्पूर्ण पाठकवर्ग तथा मेरा सुभचिन्तकहरु, मेरो नाम लोकनाथ अर्याल हो । मेरो जन्म वि.सं. १९८२ साल असार मसान्तको दिनमा भएको थियो । मेरो जिजुबुबाको नाम नन्दराम, हजुरबाको नाम लछुमन र मेरा बुबाको नाम मुकुन्द अर्याल हो । आमाको नाम चाहीं नमकला हो र मेरो जन्म स्थान गुल्मी जिल्लाको साविक क्षेत्र नं. ३ अन्तर्गत सिर्सेनी गा.वि.स. वाड नं. ५ (हालको मदाने ३) लाम्पाटामा भएको हो । हजुरबुबाहरु चार भाइ हुनुहुन्थ्यो । जेठो हजुरबुबाको नाम चतुर्भुज, माइलो हजुरबुबाको नाम लछुमन, साइलो हजुरबुबाको नाम हिरामणि, कान्छा हजुरबुबा सानैमा बाख्रा हेर्न जाँदा भीरबाट लडेर मर्नु भएको रे उहाँको नाम पनि थाहा भएन ।

बुबाहरु तीन भाइ हुनुहुन्थ्यो । जेठो मुकुन्द (मेरो बुबा) र उहाँका भाइ माइलो बुबाको नाम नरिश्वर र कान्छो बुबाको नाम धनिश्वर हो ।

मेरा दाजु भाइ र दिदीबहिनीहरु

मेरो आमाको कोखबाट दाजु भाइ र दिदीबहिनीहरु गरेर जम्मा १४ जनाको जन्म भएको थियो । विधिको विधान, यो लेख टिपाउँदाका बखत अहिले म मात्र जीवित छु । मेरा दाजु भाइ र दिदीबहिनीहरुको छोटो परिचय यसप्रकार छः–

१)      जेठी दिदीको नाम गनी हो । विवाह भएपछि करीब ३४। ३५ बर्षकीहुँदा एक्कासी विरामी भएर मृत्यू भएको थियो ।

२)      मेरो जेठो दाजूको नाम हरिलाल हो र उहाँको पेटको विमारको कारण ६४ बर्षको हुँदा २०३७ साल आषाढ १० गते मृत्यू भयो । शायद अल्सर हुन सक्छ थाहा भएन ।

३)      माइला दाजुको नाम टीकाराम हो र उहाँ ३०। ३२ बर्षको हुँदा कपिलवस्तुमा एक्कासी मृत्यू भएको थियो । बिमार केहो भन्नेसम्म पनि थाहा भएन ।

४)      माइली दिदी भूमाको दागाचौर, वाग्लुङ्ग बिबाह भएको थियो ।

५)      साइला दाजु जयश्वर १८। २० वर्षको हुँदा मृत्यू भएको थियो । मृत्यू कपिलबस्तुमा भएको हो उहाँको पनि मृत्यू भएको कारण थाहा भएन । सञ्चार सुविधाको अभावले धेरै कुरा थाहा नै हुदैनथ्यो। किरिया मैले नै गरेको थिएँ। त्यसबखत तराइमा घना जङ्गल पातलो बस्ति हुँदा धरै मानिसहरुको औलो र मलेरियाले मृत्यु हुने गरेको पछि थाहा भयो ।

६)      भक्तिराम काँइला दाजु विफरको कारणले कपिलवस्तुमा करीब २० वर्षको उमेरमा मृत्यू भएको थियो ।

७)      कान्छी बहिनी दुर्पता २० वर्षकी हुँदा सुत्केरी सम्वन्धी व्यथा जटिल हुन गई मृत्यू भएको थियो।

८)      ठूलोकान्छो भाइ कविरामको एक्कासी ५। ६ दिनको विमारले २०५७ साल साउनमा करिब ७२ बर्षको उमेरमा मृत्यू भयो ।

९)      ठूलोकान्छो भाइपछि जन्मेको भाइ दुर्गादत्त ११ महिनाको हुँदा एक्कासी विमारी भएर मृत्यू भएको थियो ।

१०)     दुर्गादत्त पछि दुईवटा जुम्ल्याहा जन्मेका र जन्मेको लगत्तै मृत्यू भएको थियो ।

११)     त्यसपछि एउटी बहिनीको जन्म भई तत्कालै मृत्यू भएको थियो ।

१२)     कान्छो भाइ थानेश्वर (गर्भे) २२ वर्षको हुँदा उत्तिसे भन्ने भिरबाट घाँसकाट्दा लडेर मृत्यू भयो।

आजको चमत्कार, परिवर्तन र चर्तिकला देख्दा हामीहरुलाई अचम्म लाग्नु कुनै आश्चर्यजनक कुरा होइन । किनभने पहिले कुन जमाना थियो अहिले कुन जमाना आयो, देख्दा देख्दै के भइसक्यो । यो सबै तुलना गर्न कठीन छ । यस्तो व्यापक परिवर्तन होला भन्ने कल्पना समेत गरेको थिइन ।

मेरो बुबाको १४ जना छोराछोरी मध्ये म राईंलोभाइ हुँ । म जन्मिएपछि बुबा आमाले राम्रोसँग पालन पोषण गरी हुर्काउनु भयो । दुई दिदी र चार दाजु मुनिको पाँचौं भाइ को रुपमा म जन्मिएको थिएँ । पछि दुई वटी बहिनी र ३ वटा भाइ जन्मिए । ती मध्ये कान्छो भाइ चाहीं गर्भे थियो । आज भोली जस्तै गरी पढ्न जाने चलन थिएन । पढ्ने रहर पनि भएन । पढ्न लेख्‍न अप्ठ्यारो थियो । त्यही हुनाले होला मेरो मन पढ्न लेख्‍न तिर नलागी सीधै गाई बाख्रा चराउने वनमा जाने रमाउने, लौरी काट्ने, घाँस दाउरा गर्ने तिर लाग्यो । दैवको नियम, समय परिस्थितिको चक्र १९९३ साल कार्तिक ठूला एकादशीको दिन मेरो बुबा स्वर्गेहुनुभयो । चलिआएको धर्म परम्परा अनुसार दाजुहरुले काज किरिया गर्नुभयो । त्यस समयमा म ११ वर्षको थिएँ । मेरो ब्रतबन्ध भइनसकेकोले पण्डितहरुले भने बमोजिम ठाडो किरिया गरें । काज किरियाको काम त राम्रोसँग गरियो । बुबाको शेषपछि सबै कार्यभार आमालाई आयो ।

मेरो विवाह र छोराछोरीको जन्म

मेरो विवाहको बारेमा घरमा कुरा चल्न थाल्यो । पहिला हाम्रो समयमा विवाह गर्दा अहिले जस्तो थिएन, ब्राम्हणको छोरालाई ब्राम्हणकी छोरी नै साटो हाली विवाह गर्ने गर्दथे । शायद धनी ठूलावडा मान्छेहरुले बहुविवाह गर्ने चलन भएर पनि होला विवाहको लागि कन्या पाउन पनि कठिन थियो । २००० सालको फागुनमा दाजुको अर्घाखाँचीको मियालपानीमा विबाह भएपछि अमिलारुखे जेठी आमाले मेरो विवाहको कुरा चलाउनु भएको हो ।

त्यसै गरी घमिरका ब्राम्हण लम्सालकी छोरीसँग मेरो विवाह हुने निधो भयो । वर्षायाम तथा असारको महिना हुनाले पानी परिरहेको थियो । यस्तै मौसममा २००३ साल असारमा मेरो विवाह सम्पन्न भयो । विवाह पश्चात् मेरी श्रीमती भुवनेश्वरी त्यतिबेलाको रीति रिवाज अनुसार तीन वर्षसम्म माइतमानै बसिन् । तीन वर्षसम्म राम्रोसँग चिनजान पनि थिएन । त्यसबेला मेरो उमेर २१ वर्ष र श्रीमतीको उमेर १७ वर्ष थियो । तीन वर्षपछि मात्र श्रीमतीलाई घरमा ल्याइयो । घरमा ल्याएको दुई वर्षपछि २००८ साल चैत महिनाको ५ गते सोमबारको दिन हाम्रो ठूलो छोराको जन्म भयो । रितिरिवाज अनुसार छैंठी एवं न्वारान कर्म सम्पन्न गरियो र नित्यानन्द अर्याल नाम रहन गयो । आजभोली जस्तो भए त सन्तान आफ्नो हातमा हुन्छन् भनिन्थ्यो होला तर त्यतिबेला भगवानको हात हो जति दिन्छन् उति थाप्नुपर्छ भनिन्थ्यो । ठूलो छोरा जन्मेको तीन वर्षको फरकमा ठूली छोरी चन्द्रकलाको २०११ साल चैत १२ गते शुक्रबारको दिन जन्म भयो । उनको जन्म पश्चात् तीन वर्षको फरकमा २०१५ साल कार्तिक ९ गते शनिवारको दिन माइलो छोरा झविन्द्रको जन्म भयो । अनि त्यसको तीन वर्षको फरकमा २०१८ साल असार २८ गते शनिवारको दिन माइली छोरी बिमाकुमारीको जन्म भयो । त्यस्तै २०२० साल पौष ६ गते कान्छी छोरी गोमाको र २०२३ साल चैत ९ गते बुधबारको दिन कान्छो छोरा डोरनाथको जन्म भयो । भगवानको कृपाले भनौं करिव तीन तीन वर्षको फरकमा ६ जना छोराछोरी जन्मिए ।

मेरो कामकाज र दिनचर्या

म प्रायः खेतिपातिको काममा नै लागें । गाई भैंसी, बाख्रा हेर्ने, घाँस काट्ने, दाउरा पानी बोक्ने, दाम्ला बाट्ने, गाई भैंसी दुहुने, ध्यू जम्मा पार्ने नुन लिन जाने जस्ता मेरा नियमित खालका काम थिए । बाहिरी व्यवहारहरु प्रायः ठूलादाजुले नै गर्नुहुन्थ्यो । पहिलो पटक म घर छोडेर १३ वर्षको उमेरमा तौलीहवा नुन ल्याउनको लागि ढाक्रे डोको बोकेर गएको थिए । नुन लिएर फर्कन चौध पन्ध्र दिन लाग्ने भएकोले खर्च बोकी लामो पैदल यात्रा र नुनको भारी लिएर गइन्थ्यो । त्यसपछि दोश्रो पटक बहादुरगञ्ज सुन्तलासँग नुन साटेर ल्याउनको लागि सुन्तलाको भारी बोकेर गएको थिएँ। तेश्रो पटक कृष्णनगरबाट १५ दिनको बाटो हिडेर नुन लिएर आएँ । चौंथो पटकमा बुटवल बाटै नुन लाने भनी आएको थिए तर त्यहाँ नुन नपाइएकोले नौतुनुहाबाट १४ दिनसम्मको नुनेभारी बोकेर घर फर्के । त्यसैबखत नै हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले भन्ने कविता पहिलो पटक सुनेको थिए । यो कविता मलाई पनि साह्रै राम्रो लागेकोले गाउँदै गाउँदै हिडें । त्यतिखेर ममा १८ बर्षे जवानीले छोएको थियो । त्यतिबेला धेरै गाइवस्तु पालिने हुनाले बस्तुभाउलाई नुन खुवाउँदा एकपटकमा ल्याएको नुन सबै सिद्धिन्थ्यो ।

एकदुई रुपैयाँले नुनको भारी पुग्दथ्यो । सबैभन्दा राम्रो भैंसी ३० रुपैयाँसम्ममा पाइन्थ्यो । राम्रा गोरुहरु पन्ध्र बीस रुपैयाँ सम्ममा पाइन्थे । २००१ सालको कुरा एउटा राम्रो लैनो भैंसी मसँग बेच्नको लागि थियो । त्यस भैंसीलाई किन्ने मान्छे २७ रुपैयाँ दिन्छु भन्दथ्यो मैले तीस रुपैया भनें। अन्तिममा उसले २९ रुपैयाँ दिएको थियो । मैले राम्रो भैंसी भएकोले तीस रुपैंयाँ भन्दा कमीमा दिन सकिन । एक रुपैयाँमा भाउ मिल्न नसकेकोले त्यो मानिस फर्केको थियो । ५ रुपैयाँसम्ममा राम्रो खसी बोका पाइन्थ्यो । मकै एक रुपैयाँको पाँच पाथी पाइन्थ्यो । घ्यू एक मोहर (पचास पैसा) को एक माना पाइन्थ्यो । चामल मोहर पाथी पाइन्थ्यो । मेरो विवाह गर्दा जम्मा २० रुपैयाँ नगदले गहना कपडा किन्नको लागि पुगेको थियो । दुई रुपैयाँले एक वर्षको लागि सम्पूर्ण परिवारलाई वरापरी (लत्ता कपडा) पुग्दथ्यो ।

कुरा २००३ साल तिरको हो । म त्यसबेला झण्डै बीस वर्षको थिएँ । त्यतिखेर बनपात गइन्थ्यो। एकदमै रमाइलो गरिन्थ्यो । त्यस्तै रमाइलो गर्ने सिलसिलामा म मेलापात गएको बेला दिदीबहिनीहरुले गीत गाएको सुनी लहलहैमा यस्तो गीत गाउने गर्थें । फेरे दौरा घेरे टोपी गोठालाको काम, आटो पिठो पाखुरीले आर्जेर हो खाम । नत कोट नत भोट खाली जानु गोठ, नत जन्त नत अन्त बसेर टोक ओंठ आदि आदि । यस्तै यस्तै भाकाका गीतहरु सुनिन्थ्यो र गाइन्थ्यो पनि । गाई बाख्रा चराउनको लागि वनमा जानु पर्दथ्यो । बनमा कहिले काँही बाघ पनि देखिन्थ्यो । पानी पर्ने र ओत लाग्ने ठाउँ नहुनेदिन वनमा लिछिप्पसँग रुझ्नु पर्दथ्यो । कहिलेकाँही आकाशमा हुने गड्याङ्ग गुडुङ्गको आवाज एवं चट्याङ्ग समेत पर्दा डर लाग्थ्यो । साथमा घडी नहुनाले बनमा गएको बेला कति बज्यो भन्ने थाहा हुँदैनथ्यो । सूर्यलाई हेरेर दिन र रातको अनुमान गरिन्थ्यो । कहीलेकाँही बादल लाग्ने हुनाले रात परेको थाहै नपाई बनमै झमक्क हुन्थ्यो र घरमा फर्कदा धाम्मधुम्म अँध्यारो हुन्थ्यो । जुकाहरुले त कति खान्थे साध्य नै थिएन । यसै गरी काम गर्दा गर्दै म एक्काइस वर्षको भएको थिए । हाम्रो घरमा अकल्पनीय मुद्दा मामिलाको झमेला आईलाग्यो ।

आगोलागिको मुद्दा

आगलागीको मुद्दाले हामीलाई तहसनहस पारेको थियो । त्यो मुद्दा बुबालाई लागेको थियो । मेरो ६ बर्षको ठूलो कान्छो भाइ कविराम र ६ बर्षकै अमिलारुखे गोपीरामले हरिया गहुँ पोलेर खाँदा भक्तिनी नाम गरेकी विधवा महिलाको घर गोठमा आगो लागेको र हामीहरुले त्यसको क्षतिपूर्ति दिंदा पनि नमानी पाल्पा अदालतमा मुद्दा दायर गरेकी थिईन् । बुबा मुद्दा फिराई एक दुई पटक तारिख बोकेपछि स्वर्गेवास हुनु भएको थियो । आमा त्यस समयमा गर्भवती हुनुहुन्थ्यो । दाजु पनि पहिला मुद्दामा नपरेको हुनाले त्यती अनुभव नभएर होला नालिसमा तारिख लिन जानु भएनछ । त्यसैले एकतर्फी बनाई मुद्दा भक्तिनीले नै जितिन् । भक्तिनीले जितेपछि पाल्पा अदालतले हाम्रो जग्गा जायजात तायदात गरिदियो । बाबुको मुद्दा सकार्नु परेकोले यसको संपूर्ण झमेलाको जिम्मा ठूलोदाजु हरिलालमा आईप¥यो । हाम्रो आफ्नो भन्ने लगाएको लुगाबाहेक केही भएन । त्यसपछि दाजुले पाल्पा अदालतको फैसला विरुद्ध पुनराबेदन गर्न खर्चको लागि केही चाँदीमा मोहर कुटुरो पारी तत्कालिन राणाकालको सर्वोच्च अदालत काठमाडौंमा पैदल यात्रागरी आउनुभयो । पाल्पाको पुनरावेदन अदालतमा यस्तो अन्याय भयो भनी त्यतिबेलाको राणाकालिन सर्वोच्च अदालत काठमाडौंमा मुद्दा दायर गर्नुभयो । मुद्दा चल्दा चल्दै धेरै समय बित्यो ।

यसरी समय वित्दै जाँदा दाजुलाई तत्कालीन श्री ३ महाराजा जुद्ध शम्शेरले आमालाई पनि लिएर आउ भन्ने आदेश भएछ । अनि दाजुले घरमा गई आमालाई पनि लिएर काठमाडौं जानु भयो । जानेबेला खरियाका गीतारामका बुबाले आज नै दिन निस्केको छ भनेपछि आमा, दाजी, परीक्षत कान्छा बुबा र उहाँको श्रीमती बाग्लुङ्गको बाटो हुँदै तेह्र दिनको पैदल यात्रा पछि काठमाडौं पुग्नु भएछ । आमाले चारमाना आटो र ९५ रुपैंया चाँदिका मोहर कुम्लो पारी बोकेर हिड्नु भएको थियो रे। ६ महिना पछि फर्केर जाँदा तिम्लेको पारिपट्टि अर्किबाङ्गमाथिको रानी दहबाट तिमिले देखेपछि घर पुगेजस्तै भएर एकछिन डाँडोमा सुस्ताउनु भएछ । त्यही बेला टुप्लुक्क तल्ला चौरका जंगे हवल्दार भेटिएछन् र आमाले उनलाई सर्वप्रथम मेरा सबै छोराछोरी जीवित होलान कि भनेर सोध्नु भएको रहेछ। यसबाट सहजै अनुमान गर्न सकिन्छ कि नावालक छोराछोरीको पीरले कति तडपिनु भएको थियो होला ।

त्यति बेला भर्खरै भाइ जन्मी दश महिनाको मात्र भएको थियो । त्यही दश महिनाको दुधे बालकलाई घरमा छोडी आमा र दाजु पैदलयात्रागर्दै गुल्मीबाट काठमाडौं जानु भयो । मुद्दाको काम न हो, न्यायाधीशहरुले छिटो छरितो कहीले गर्थे र ? ठमेलमा कोठा खोजी आमा र दाजु छ महिनासम्म काठमाडौंमै बसी मुद्दाको तारिखलिने उपस्थित हुने गर्नु भयो । उता घरमा सबै सम्पत्ति जायजेथा हरण गरिएको थियो । त्यो दश महिनाको गर्भे टुहुरो भाइ घरमा रुने, आमा फेरी काठमाडौंमा रुने, न चिठी न फोन थाहा खवर हुने केही थिएन । आजभोलीको टेलिफोन आदिको सुबिधा उतिखेर कल्पना पनि गरिएको थिएन ।

मलाई भाइ बहिनीहरुलाई पालन पोषण गर्ने सबै जिम्मा लगाइएको थियो । जेनतेन एउटा भैंसी पालेको थिए । घर वरीपरिको जग्गामा पनि खेती नगर्ने आदेश भएको थियो । तर मैले खाएछ भने खाला बचेछ भने खाउँला भनी खेती त लगाएकै थिएँ ।

उता कोठा लिएर बसेकी आमा घरको पीरले सँधै अदालतमा गएर रुने कराउने गर्नु हुँदो रहेछ । जति रोए कराएपनि कसैले सुन्नेवाला थिएनन् । त्यसबेला सबै राज्यशक्तिको प्रयोग राणाहरुले गर्ने र राजालाई उनीहरुकै नियन्त्रणमा टुँडीखेलमा हरेक साँझ केही समय जन गुनासाहरु सुन्ने र सोको विवरण राणा प्रधानमन्त्रीको कार्यालयमा पठाउने व्यबस्था रहेछ । राजालाई आफ्ना मुद्दा वा पीरमर्का, गुनासा सुनाउन टुँडिखेलमा दैनिक सर्वसाधारणको भीड लाग्ने गर्दो रहेछ । एक दिन यही अबसरको पर्खाईमा पालो पाएर तत्कालिन राजा त्रिभुवनलाई महाराज हामीहरुलाई पनि हेरिबक्स्योस्, हामी अन्यायमा परेका अनाथ छौं भन्दै आमाले आफ्ना सम्पूर्ण बृतान्तहरु संक्षेपमा राजासमक्ष बताउनु भएछ । त्यो मौखिक गुनासो वा अपिल राजाका कर्मचारीबाट लिपिवद्धगरी तुरुन्तै राणाको दरवारमा पठाईंदो रहेछ । यस्तै पालोको प्रतिक्षा गर्दा गर्दै छ महिना बितिसकेको थियो । त्यसको भोलिपल्टै श्री ३ महाराजले न्यायाधीशहरुलाई बोलाई यिनीहरुको फैसला तुरुन्त सुनाइदिनु भन्ने हुकुम भएछ । बिहान ठीक ११ बजे आमालाई बोलाई मुद्दा तिमीले नै जित्यौ भन्ने हुकुम भएछ । साथमा फैसला पत्र पनि दिइएको थियो । त्यति बेला लगभग १२ वर्ष लामो बुबाबाट चलेको मुद्दा आमा र दाजुबाट २००० सालमा टुंगियो । आमा र दाजु मुद्दा जिती असोजको अन्तिमतिर दशैं मान्न घर पुग्नुभयो । अनि ती जायजाततायदात भएका श्रीसम्पत्ति जग्गा जमिनहरु फिर्ता गरी पहिलेकै अबस्थामा दाजु र आमाले पु¥याउनुभयो । आमा भन्नुहुन्थ्यो त्यतिबेलाका राजा र प्रधानमन्त्रीहरुले आफूलाई अन्याय भएको कुरा पु¥याउन सके सही र छिटो न्याय दिंदा रहेछन्, भगवानको कृपाले गर्दा आज हामीहरु आफ्नो घरजग्गा हातपार्न सफल भयौं ।

मुद्दा जितेपछि भक्तिनीले बोले बमोजिम ४८४ रुपैयाँ दिने आफ्नो घर जग्गा धनमाल धितो सबै फर्काउन पाउने भन्ने फैसला बमोजिम साँवा ब्याज गरी धनमाल उनलाई बुझाउन पर्ने बुझाइयो हाम्रो जति फिर्ता ल्याईयो। त्यसपछि बल्ल हामीहरुले सन्तोषको सास फे¥यौं ।

छोराछोरीको पढाइ

त्यतिबेलाको समयमा हाम्रो गाउँतिर छोरालाई कोही कोहीले मात्र पढाउँथे । छोरीलाई त पढाउने चलनै थिएन। छोरीहरुले हामीलाई घरमा सहयोग गरेपछि छोराहरुलाई त पढाउनै पर्दछ भन्ने मेरो सोंच आयो । सानैदेखि आफूले नपढ्नाले अहिले आएर गाइबाख्रा हेरी बस्नु परेको छ, छोरालाई त जसरी भएपनि पढाउनु पर्छ भन्ने मनशाय राखी मैले ठूलो छोरालाई पढ्नको लागि उसको मामा (मेरोसाला) कहाँ पठाएँ । मामाले उसलाई कर्मकाण्ड (संस्कृत विद्या) सिकाए । कर्मकाण्ड पढ्दा पढ्दै उसले दुई वर्ष मावलीमै वितायो । म नून लिनको लागि गएको थिए । नुन लिएर फर्की घरमा आउँदा काफलपाटामा स्कुल खुलेको समाचारले मेरो थकाइलाई पनि विर्सायो । स्कुल निर्माणको लागि दलिनको काठ पनि मैले दिएको थिएँ । २०१६ सालमा स्कुलको निर्माण पूरा भयो। त्यस स्कुलको पहिलो बर्षमा नै मेरो जेठोछोरा नित्यानन्दलाई भर्ना गरिदिएँ । पहिला कर्मकाण्ड सिकेको हुनाले उसलाई त्यहाँ पढ्न त्यती गाह्रो भएन । कक्षामा सँधैं प्रथम श्रेणीमा उत्तीर्ण हुँदै गयो । उसले राम्रोसँग पढिदिएकोले ममा समेत हौसला आयो । उसले कक्षामा प्रथम भएर सँधै पुरस्कार लिएर घरमा आउँथ्यो । उसले भाइलाई समेत पढाइप्रति हौसला बढाइदियो र राम्रोसँग पढेमा यस्तो पुरस्कार पाउने कुरा समेत सुनायो । त्यतिबेला झविन्द्र जम्मा ५ वर्षको थियो । उसले पनि पढ्न जाने इच्छा ग¥यो । त्यति सानो मान्छेले पनि पढ्नमा रहर गरेको देख्दा मलाई साह्रै खुसी लाग्यो । हाम्रो मान्यता अनुसार श्रीपञ्चमीको दिनदेखि बालकलाई पढाइ शुरु गराए ऊ विद्याले भरिपूर्ण हुन्छ भन्ने थियो । त्यसैले उसलाई पनि श्रीपञ्चमीको शुभदिनमा अक्षरारम्भ गराउने निधो ग¥यौं । दश वर्षको उमेरमा २०२५ सालमा झविन्द्रलाई काफलपाटाको प्राथमिक विद्यालयमा भर्ना गरियो । दाजुसँग घरमै पढी केही जानिसकेको हुनाले उसलाई त्यती अप्ठ्यारो परेन । नम्र मान्छे सबैको प्यारो हुन्छ भनेझैं उसलाई पनि शिक्षकहरुले माया गर्दथे । त्यहाँबाट राम्रो अंक ल्याई पाँच कक्षा पास गरी छ कक्षामा पढ्नको लागि गुल्मीको नमता (मर्भुङ्ग) गयो । त्यसै वर्ष ठूलो छोरा नित्यानन्दको विवाह गरियो । माइलो छोरा सानैदेखि पढ्न मन गर्ने, धेरै नबोल्ने, मिजासिलो स्वाभावको थियो । नमताबाट आठ कक्षा पास ग¥यो । एस. एल. सी. को लागि धुर्कोट गयो । धेरै पढाउने मन भएपनि पैसाले साथ नदिएपछि के गर्ने? घरमा पैसा पनि कसरी हुन्थ्यो र ? कि त रिन खोज्नु पर्थ्यो, कि त अन्न बेच्नु पर्थ्यो । रिन पनि जहाँ तहाँ पाइंदैनथ्यो । पाइयोस पनि कहाँबाट, गाउँमा पैसै हुँदैनथ्यो । जेनतेन झविन्द्रलाई पैसा खोजीदिइ गुल्मीको धुर्कोट पढ्न पठाएँ । एउटा बाकसमा खाने खर्च र लुगा किताब बोकी पढ्न गयो । म कहिले घर नछोडेको छोरा कसरी बस्छ कहाँ बस्छ भनी चिन्ता गर्न थालें । त्यहीं कोठा खोजेर पढ्न थालेछ । बेला बेलामा घरमा पनि आउँथ्यो । धेरैजसो झविन्द्र वेसिको घर लाम्पाटामै बस्दथ्यो ।

छोराको लागि पैसा खोज्दा

पैसाको लागि जहिले पनि कठिन हुन्थ्यो । एकपटक माइलो छोरा एस. एल. सी.को फर्म भर्नको लागि पैसा चाहिएर पैसा लिन घरमा आयो । घरमा आउँदा आउँदै बाटोमा रात परेछ । अनि त्यहीं लाम्पाटा (बेसिको घरमा) आइ बसेछ । म सँग भेट नगरी पैसा नमिल्ने हुनाले बिहान उठी माथि तिम्ले (गोठको घर) मसँग आयो र बुबा मलाई रु. १००। – रुपैयाँ चाहियो भन्यो । हुन्छ मसँग त छैन तर खोजेर ल्याउँला भने । गोठालो मान्छे गोठमा बसेको गाइबाख्रा नफुकाए कराउने, त्यसैले एकछिन गाइबाख्रा फुकाएर आई पैसा खोजुँला भनी गाइबाख्रा फुकाएर गएँ । केहीबेरपछि गाइबाख्रालाई चराएर ल्याइसकेपछि म पैसाको खोजीमा हिंडे । पहिले टोरेटा भन्ने ठाउँमा गएँ त्यहाँ काम नचलेकोले म मरभुङ् (अलि टाढा) नै गएँ र त्यहाँ मनले देखे जति ठाउँमा सोध खोज गरें तर पैसा छ भन्ने मान्छे कोही पाइन । ओहो आज छोरालाई त्यत्तिकै फर्काउनु पर्छकी भन्ने मलाई सा¥ह्रै चिन्ता पर्न थाल्यो । अब कता जाउँ भनी घुँडामा हात लगाउँदै उकालो चढ्दै फर्की रहेको थिएँ । त्यस बेला मरभुङ्गका शिवबहादुर त्यही बाटो आए र मलाई कता जान लाग्नुभयो भनी साधे । काम चलाउलान जस्तो त थिएन तर विचार गरुँ भनी तिमीलाई भेट्न भनी निस्केको, तिमी बाटैमा भेटियौ भनें । मलाई भेट्नुपर्ने के काम थियो दाइ भने । अनि मैले मेरो सम्पूर्ण कुरा बताएँ । मेरो कुरा सुनेपछि उसले दाइलाई कति चाहिएको हो, मसँग जम्मा १०० रुपैयाँ मात्र छ त्यतिले पुग्ने भए लैजानुहोस् भने । मलाई ढुंगा खोज्दा देउता मिले जस्तै भयो । त्यो पैसा गोजीमा राखेर आउँदा बाटोमा एक नाम्ला सोतर काटी बाँधेर घरमा गएँ । घरमा गएर छोरालाई पैसा दिन्छु भन्दै गोजीमा हेर्छु त पैसा नै छैन । हरे कहाँ खस्यो, त्यही सोत्तर काटेको ठाउँमा खस्यो कि भनी फेरी फर्केर गएँ । सत्तको धन कहिले हराउँदैन भनेझैं मैले पहिला सोत्तरको भारी बानेको ठाउँमै खसेको रहेछ। अनि लिएर आएँ । छोराले बुबा कतिखेर आउनुहुन्छ भनी पर्खेर बसिरहेको रहेछ । म घरमा आएपछि यहाँबाट भोली बिहानै जान ढिला हुन्छ, फेरी किताब कापी पनि तलै छन् भनी रुनथाल्यो । लौ बाबु पैसा लिएर जाउ भनी फकाउँदै पैसा दिएर पठाएँ । त्यसै वर्ष एस एल सी पास पनि ग¥यो। मैले पैसाको लागि धेरै गाह्रो साँघुरो बेहोर्नु परेपनि मेरा छोराछोरी नाति नातिनाहरुलाई कहिल्यै पनि धनको अभाव नहोस् भनी भगवानसँग पुकार गरेको थिएँ । शायद इश्र्वरले मेरो पुकारको सुनुवाई गर्नु भयो, अहिले मेरा आँखा अगाडि सबै छोराछोरीहरु नाति नातिनीहरु आ–आफ्ना पढाइ तथा पेशा व्यबशायहरुमा राम्रो प्रगति गरेका छन् । मलाई कसैको दुःख देख्नु परेको छैन । सबैको सुख, सन्तोष र प्रगति देखेर म प्रसन्न र सन्तुष्ट छु ।

माइला छोराको जागिर

एस एल सी पास गरेपछि जागीर खोज्नु प¥यो भनी घरबाट निस्केर तम्घास गयो । तम्घास जाँदा रियालेका एकजना मान्छेसँग गएको थियो । पाँच दिनसम्म घरमा पनि आएन, त्यसपछि त्यो मान्छे आएको छ रे भनी सोध्न गएँ । सोध्न जाँदा आत्तिनु पर्दैन उ भोली पर्सि सम्म आउला सँगै तम्घास पुगेका थियौं । म त उसै दिन फर्कें, ऊ आफ्नो केही काम छ भन्यो । पछि भेट भएन भने । अनि राति सुतेपछि मैले सपना देखें । “नानी भयो तेरो काम ? भन्दा हजुर काम त भयो तर टाढा पारिदियो भन्यो । ” बिहान उठी जेठो छोरा नितालाई आज मैले यस्तो सपना देखें भनें । नभन्दै दिउसै भाइ आयो । घरमा आएपछि दाजुले सोधेछ, काम बनेछ अलि टाढा परेछ भनेझैं अर्खबाङ्गमा पारिदियो भन्यो । भोलिदेखि त्यहाँ पढाउन जाने भयो । अनि मैले भने यहाँबाट जान टाढा भए त्यतै बस्ने होकी ? विचार गरौला बुबा भन्यो । तर घरबाट गएर १० महिना जति त्यहाँ पढायो । उसको मासिक तलव २०० रुपैंया थियो । त्यो पैसा त्यतिबेला धेरै ठूलो लाग्थ्यो उसको त्यहाँ जागिर सँधै रहिराखे हुन्थ्यो जस्तो लाग्थ्यो । त्यहाँबाट उसले कमाएको ८ सय रुपैयाँ लिएर २०३५ साल असार महिनामा काठमाडौ पढ्न हिड्यो । उसको काठमाडौंमा चिने जानेको मानिस कोही थिएन । त्यहाँभन्दा पहिले ऊ काठमाडौ आएको पनि थिएन । एक्कासी काठमाडौं आएर कोठा लिई पढ्न शुरु ग¥यो । उसले पढ्न शुरु गरें भनेर लेखेको चिठी उन्नाइस दिनमा घरमा पुग्यो । उसले पढाइको साथसाथै जीवन निर्वाहका लागि जागिर पनि खान थाल्यो । पछि नायब सुब्बा भएको पत्र आयो । त्यसपछि तीनतिर शाखा अधिकृतमा नाम निकालेको खबर आयो । अन्तर्वार्ता पछि परराष्ट्रमा एक नम्बरमा नाम निकालेर अधिकृत भएको थाहा पाउँदा हर्षको सीमा रहेन ।

ठूला छोराको विदेश भ्रमण

विवाह पश्चात् ऊ पढ्न छोडी तीन महिनासम्म घरमै बस्यो । त्यस बेलामा मैले कहीबाट साहु तिर्नको लागि पैसा लिएको थिएँ । उसले म बन गएको मौका पारी साँझतिर आमासँग अलिकति पैसा चाहियो भनेछ । आमाले किन तिमीलाई पैसा चाहियो भन्दा उसले मलाई कापी किताब किन्नको लागि चाहिएको छ भनेछ । आमाले पनि छोराको किताब कापी छैन होला भनेर उसलाई बाकसको साँचो दिइछन्। उसले मेरो बाकसको चाँबी खोली मैले राखेको रु. ३१०। – लगेछ । त्यसपछि पैसा लिएर ऊ छिमेकी गाँउ पोखराका गुन्जबहादुरको घरमा गएछ । त्यहाँ गएर उसले म पनि तपाईंसँगै जान्छु मलाई पनि लैजानुहोस् भनी सरसल्लाह मिलाइ राति खाना खान तल बेसीको घरमा गएछ । म त माथि गोठ (तिम्ले) नै बस्ने हुनाले केही थाहा हुने थिएन । उसलाई भारततिर जाने मन रहेछ, मलाई भनेको थिएन । खाना खाइसकेपछि रातिनै हिंडेछ । भाउजु (मेरो जेठो दाजुको श्रीमती) ले पनि कतै साथीकहाँ गएहोला भनी त्यती खोज तलास गर्नुभएनछ । ऊ चाँही ओंख्रारुखे माइलो (हेमराज) लाई लिएर सिन्धेुरे भन्ने खेतको कटेरोमा गएर रात विताएछ । म घरमा साँझ परेपछि आएँ । भैंसी दुहुने, गोबर सोत्तर सबै गरिसकेपछि घरमा गएँ । खाना खाने बेलामा निता (नित्यानन्द) तल किन गएको हो ? भन्दा किताब किन्न गएको हो अझै आएको छैन भन्ने उत्तर पाउँदा पो म बल्ल झसङ्ग भएँ । उसको आमालाई किताब किन्नलाई कति पैसा दियौ भन्दा आफै निकालेर लगेको हो भनिन् । अनि म बाकसमा गएर हेर्दा त सबै पैसा लगेको थाहा लाग्यो । त्यतिका पैसा किन लगेहोला भोली आएपछि सोधुंला भनी बेलुका सुतियो । भोली बिहान भाउजु माथि नै आउनु भयो र “नानी छोरा त लाहुर गयो रे, भन्छन्” भनी खवर सुनाउनुभयो । मलाई अब चिन्ता पर्न थाल्यो । त्यत्रो बालक कहाँ गएहोला, के खाए होला ? म तुरुन्तै पोखरा गुन्जबहादुरकहाँ गएर सोधें । उनीहरुले पनि हामीले थाहा पाएनौ भने । अनि फर्केर आएँ । बाबुआमाको मन छोराछोरीमाथि छोराछोरीको मन ढुंगामुढामाथि भनेझैं मलाई कति चिन्ता लागेको थियो, तर उसले लामो समयसम्म एउटा पत्र पनि पठाएन । गएको एकवर्षपछि मात्र एउटा चिठी पठायो । ऊ मामाको नजिकै आसाम राज्यमा गएको र दुःख नपाएको कुरा पत्रबाट सुन्न पाउँदा ज्यादै खुसी लाग्यो । त्यसको तीनवर्ष पछि केही पैसासैसा लिएर घरमा आयो । घरमा आएपछि उसले पढ्ने विचार गरेन । घरमै काम गर्ने, तिथी श्राद्ध गराउनेपट्टी लाग्यो । पढाइमा जहिलेपनि प्रथम हुने तिक्ष्ण बुद्धिको जेठो छोरा आर्थिक तथा घर व्यवहारको कारणले पढेर माथि जान नसकेकोमा जहिले पनि हामीलाई पीर लागि रहन्छ ।

कान्छो छोराको पढाइ तथा जागिर

माइलो छोरा झविन्द्र काठमाडौंमा पढ्ने हुनाले र कान्छो छोरा डोरनाथ पनि उसैसँग क्याम्पस पढ्न गएकोले उसलाई त्यति आर्थिक कठिनाइ भएन । काठमाडौ गए पछि छिटै नै उसले लोक सेवा पास गरेर प्रधानमन्त्रीको कार्यालयमा जागिर खाएको थाहा भयो । तीन पटक प्रहरीहरु प्रहरी प्रतिवेदन पठाउने क्रममा बुझ्न घरमै आउथे । यसबाट ठूला छोराले थाहा पाउथ्यो र भन्थ्यो कि भाइहरुले लोक सेवा पास गरेछन् । माइला छोरा झविन्द्रको नेपाली राजदूतावास साउदी अरेवियामा सरुवा भएकोले हामी पनि सँगै गएका थियौं । कान्छा छोरा डोरनाथले प्रशासन तिरको शाखा अधिकृतको जाँचमा नाम निकालेको थियो । अन्तरवार्तामा सफल हुन नसकेको खबर पायौं निकै दुःख लाग्यो । तर राम्रै भएछ क्यार पछि परराष्ट्रको अधिकृतमा एक नम्बरमा नै दाजुले जस्तै नाम निकाल्यो । दुई भाइ छोराहरुले परराष्ट्रको अधिकृतमा एक एक नम्बरमा पास गरेकोमा धैरै आफन्तजनहरुले हामी लोग्ने स्वास्नीलाई भाग्यमानीको संज्ञा दिए । हामी पनि साच्चै भाग्यमानी रहेछौ । धेरै देश विदेश घुम्ने डुल्ने मौका मिल्यो । घाँस दाउरा, खनखोरसमा अधिकांश जीन्दगी विताएका हामीहरुलाई प्रगती र विकासको कल्पनै नभएका राहरु देख्यौं ।

घर निर्माण

हाम्रो दुई ठाउँको जग्गा हुनाले म प्रायः माथि तिम्ले (गोठ) नै बस्थें । छोराहरु स्कुल जान्थे । जेठो दाजुका जहान परिवारहरु प्रायः तल बेसीको घर लाम्पाटामै बस्नुहुन्थ्यो । मलाई सहयोग गर्ने एउटी ठूली छोरी मात्र थिइ । माइली छोरी भरखरै जन्मिएकी थिइ । त्यसलाई ठूली छोरीले हेरचाह गर्दथी । धेरैजसो जीवन प्रायः गोठ (थारेधर) मा बसेर विताइएकोले मलाई घर बनाएर बस्ने इच्छा थियो । २०२३ सालमा तिम्लेमा नयाँ घर बनाइयो । त्यो घर बनाउन ठूलो छोराले निकै हर्षकासाथ धेरै मिहिनत गरेको थियो । त्यहीं घर बनाएपछि कान्छो छोरा डोरनाथको जन्म त्यतिखेर हामी बसेको गोठमा भयो । घर बनाएर सकिसकेपछि नयाँ घरमा सर्न ठीक्क भएको बेला ठूलो कान्छो भाइका परिवार लत्ता कपडा लिई लाम्पाटाबाट त्यो घरमा सर्न आएको देख्दा हामी आश्चर्य प¥यौं । घर सर्न आतुर भएको ठूलो छोरो निरास भएर रुन थाल्यो । अरु जहान परिवारका गहभरी आँसु भए, तैपनि हामीले अरु बढी केही प्रतिक्रिया नजनाई उसलाई वस्न दियौँ । म तथा भाइहरुलाई ठूलोदाजुले कहिल्यै नराम्रो बोलिबचन गर्नु हुँदैनथ्यो । ठूलो छोरा नित्यानन्दलाई सम्झाउँदै उहाँले नरोऊ म तिमीलाई अर्को घर बनाइ दिउँला भन्नु भयो । हामी पहिलेकै गोठमा बस्यौं ।

ठूली छोरीको विवाह

२०२७ सालमा पिपलारुखकी माईली (फुर्सी) को विवाहको लागि बाम्रुकबाट जन्ती आएका थिए। जन्तीको रुपमा बाम्रुक ठूला खर्कबाट आउनु भएका टीकाराम मरासिनीलाई ठूली छोरीको विवाह गरि दिने कुरा चलेछ र दाजुले त्यहीं कुराको छिनोफानो गरी ठूलो छोरीको विवाह गरिदिने निधो गर्नुभएछ । विवाहको लागि दाजुले हामीहरु कसैलाई पनि सोध्नु भएको थिएन । त्यहींनै विवाहको लगन समेत जुराउनुभएछ । त्यसको तीन दिन पछि बाजा गाजा सहित जन्ती आएर ठूली छोरीको विवाह कार्य सम्पन्न भयो ।

छुट्टिभिन्न/खेतिपाती

ठूलोकान्छो भाइ कविराम आफ्नो पायक पर्ने गरी दाजु र म सँग छुट्टिई बस्यो । हाम्रो दुई ठाउँको पाएक, कहिले लाम्पाटा कहिले तिम्ले गर्नु पर्ने थियो । पाँच दिनको मकै छर्ने बारी त्यसमा पनि मकै छरेपछि नभित्राएसम्म बतास, बाँदर, सुगा आदिबाट जोगाउन निरन्तर खटेर हेरचाह गर्नैपर्दथ्यो। त्यस्तै एनकेन दिनमा यस्ता जीवजन्तुबाट बचाए पनि रातीमा दुम्सीले खाएर सताउँथ्यो । त्यती मिहिनत गरेर लगाएको खेति राम्रोसँग नभित्राए बर्षदिन भरी खाने अन्न हुने थिएन । कहिले अन्नपात ओसारेर गोठबाट बेसी लैजानु पर्दथ्यो भने कहिले गोठ । काममा जति दुःख भएपनि खान नपुग्ने भने भएन ।

भाइ छुट्टिएर गए पनि र बुबा वितीसक्नु भएको भए तापनि ठूलो दाजु र म सँगै भएकोले मलाई बुबाको अभावको महशुस कम भयो । दाजुले सबैकुरा मलाई सिकाउनु हुन्थ्यो । जतिखेर पनि राम्रो बोलीले बोलाउनु हुन्थ्यो । नयाँ घरभित्र बस्न आत्तिएको कबिराम भाइलाई नयाँ घर र तल बाइसाना भन्ने ठाउँको बारी दिइयो । दाजुले लोकनाथको धेरै बालबच्चा भएकोले लाम्पाटाको घरबारीमै वस्छ भन्नु भयो । मेरा बालबच्चा पनि थोरै छन् जेठो बाठो मान्छे भाइहरुले छोडेको भए पुग्छ म तिम्ले जान्छु भन्नु भयो । बाह्र भाइ मध्ये अंश लगाउने जम्मा तीन भाइ थियौं । तीनभाइकै नाममा छुट्टाछुट्टै जग्गा जमिन आआफ्नो हिस्सा तोकी छुट्ट्याइदिनु भयो । यसपछि भाइ कबिराम एक्लै नै वस्न थाल्यो तर दाजु र म भने सँगै नै बस्यौं । सबै एकै ठाउँमा बसेर काम गर्न नमिल्ने हुनाले हामी फेरी पनि दुई ठाउँ गरी बस्यौं । मेरो परिवार माथि तिम्ले (गोठ) मै बस्यौं भने दाजुको परिवार तल लाम्पाटामै बस्नुभयो । माथि बस्दा मैले धेरै पौरख गरें । ज्यान सँधै यस्तै नै रहला भनीकाम गरें । घाँस काट्न पारीपट्टीको भिरमेला भन्ने भिरमा गएपनि अरुले भन्दा एउटा मुठो भएपनि बढी घाँस बोक्थें । घाँस काट्दा जुकाले खान्थे, जुका पुछ्दै÷फाल्दै अर्को, घाँस काट्ने गर्थे । घाँसको भारी बोकी घरमा नआउन्जेलसम्म बाटोमा कहिल्यै टहलिने अरुसँग गफगरी बस्ने गरिन । बाटोमा कतिचोटी घाँसको भारी फुक्थ्यो । भारी धेरै गह्रौ हुनाले मुन्टो बाङ्गो हुन्थ्यो । घरमा आउँदा पानीले भिज्ने हुनाले आएपछि अर्को लुगा फेर्थें । कहिले काहीं फेर्ने लुगा पनि हुँदैनन्थ्यो । एकपटक त्यस्तै दुःख परेको बेलामा त्यहींका लम्साललाई घाँस किन्न देउन भन्दा लम्सालले आफूसँग हुँदा हुँदै पनि छैन भने । त्यही कारणले गर्दा, गरेपछि कसो नहोला भनी पोखराबाट एउटा काभ्रोको बेर्नो ल्याई मलखादमुनि लगाएपछि त्यो छिटै नै हर्लक्क भयो । त्यो विरुवा ठूलो हुँदै गयो । त्यसको हाँगाबिंगाहरु काट्दै अन्यत्र सार्दै गर्न थालें र जताततै हरियाली पारें । म सँगबाट कति जनाले त्यो काभ्राको विरुवा मागेर लगी रोपे साध्य छैन । अझसम्म पनि ती काभ्राको हरियाली यत्रतत्र देख्‍न सकिन्छ । त्यस्तै एकचोटी मेरो घरमा बाँस नभएकोले कटेरो बनाउनको लागि एउटा बाँसको घनो बलोको लागि माग्नु प¥यो । अनि त्यही बाँसको बलोको लागि टोरेटा आएर एउटा बाँस मागें । टोरेटाका नुवाली जेठोबुबाले एउटा रोजी काटेर लैजाउ भने । सानो तिनोमा आँखा नगएकोले ठूलै घनो काटें । बोकेर उकालो पनि लागें । उकालो अलिकति त लागें तर बाटो घुमाउरो हुनाले त्यति लामो बाँस लान साहै कठिन भयो । त्यसमा पनि बाटोको तलपट्टि हे¥यो भने कछार भिर, बल्ल बल्ल त्यसलाई घरमा पु¥याएँ । घरमा पुगिसकेपछि एकदमै मलाई आफैप्रति दिक्क लाग्यो । जाबो एउटा बाँस नलगाएकोले अहिले त्यति टाढाबाट यत्ति दुःखले बोकेर ल्याउनु प¥यो । अनि त्यसै बखत मैले जसरी भएपनि बाँस लगाउने निधो गरें र त्यसैसालको बर्षा याममा बाँसको विरुवा ल्याई चार छ घार रोपें । ती बाँसहरु सबै राम्रो भएर हुर्किए । बारबेर गरी त्यसबाट निस्कने तामाहरुलाई गाइगोरुबाट बचाई हुर्काएँ । एकपछि अर्को अर्को गर्दै दुई चार वर्षमा ठूलै घार बनिसके । घरपाखाभरी बाँसै बाँसको झाडी बनाएँ । त्यसको साथसाथै मैले लिवास पनि लगाएँ । चौपारी (चौतारो) चिनेर पिपल पनि लगाएँ । अरुले अमिलो (निबुवा) को रसको गफ गरेको सुनी मैले पनि अमिलोको खेती गर्नुप¥यो भनी रोपें । बारीको ढिकै भरी अमिलाको विरुवा लगाए । ती अमिलाहरु काफल फलेजस्तै गरी फले । पछि त्यसको स्याहार सम्भार पु¥याउनै कठिन भयो । तर नोक्सान भने गरिन । आजकल जस्तो विक्रि वितरण गर्ने चलन थिएन । बजार पनि थिएन । गाउँका इष्टमित्रहरुलाई बाँडेर नै सक्नेगर्थे । अमिलाको चुक बनाएर भने घ्यूसँग साटिन्थ्यो । आरु बखडा जस्ता मौसम अनुसार फल्ने फलहरु पनि लगाए । एकपटकको कुरा हो । भाइसँगै हिडिरहेको बेला बाटोमा भाइले अरुले खाएर फालेको उखुको खोया टिपी खायो । छि त्यस्तो अरुको जुठो नखा भनी खोंसेर फालिदिंदा धुरुधुरु रोयो । अनि भाइलाई फकाउनको लागि पोखराका गुन्जबहादुरको घरमा उँखु भएकोले उनको घरमा गई भाइ रोयो एउटा उखु दिनुहोस् न दाजु भनी मागें । उनले मलाई उखुको टुप्पातिरको एउटा टुक्रा मात्र दिए । आज आफुले खेती नगर्नाले दुनियाको अगाडि मुख किच्याउनु प¥यो भन्ने सोंचें र मैले खेती गरे कसो नहोला भनी अर्को साल पुर्कोट दह गई एउटामुठो उखुको विउ ल्याएँ । त्यसलाई राम्रो मलजल गरी लगाएँ । त्यसबाट प्रशस्त उँखुहरु भए । अर्कोसाल अझ बढी उँखु रोपें । अब उँखु कसले खाएर सक्ने । १५ दिनसम्म ठुटे कोलमा पेलेर पनि नसकिने भयो । त्यसलाई कोलमा पेलेर खेतालाहरु लगाई उँखु पेली आएको रसलाई पकाएर बाक्लो रस (खुदो) बाह्र तेह्र पाथीसम्म बनाएँ । गाउँमा इष्टमित्रलाई कति बाँडें, घरमा कति खाइयो साध्य नै छैन । काम गर्नमा कहिले अल्छी गरिन । रातभरी खुंदो र चुक पकाउँदा पन्ध्र बीस दिनसम्म कहिल्यै आगो निभाउनु परेन । गाई बाख्रा हिडाल्ने बाटो कँही बिग्रिएको देखें भने मलाई त्यस रातभरी निद लाग्दैनथ्यो । अर्को दिन जसरी भएपनि गएर त्यो बाटो बनाउँथें । कँही गाई पसेर खेतीखाने जस्तो देखें भने त्यस ठाउँमा अग्लो पर्खाल लगाउँथें । पानी खाँदा गाई बाख्राको नाकमा लित (गाइ भैंसीले कुवा पोखरीमा पानी पिउँदा नाक मुखमा छिर्ने ठूलो जुका) पर्ला भन्ने डरले पोखरीको पानीलाई सँधै सफा राख्थें । बाटोमा ढुंगाहरु हुनाले गाई बस्तु एवं मान्छेलाई पनि असुविधा हुने हुनाले त्यसलाई सँधै पन्छ्याउँथें ।

एकपटकको कुरा हो । माइलो छोरा भरखरै हिंड्ने भएको थियो । आमासँगै पधेरामा पानी लिन पछि लागेर जाँदा एउटा ढुंगामा अल्झेर लडेछ । अनी उसलाई ढुङ्गामा परेर बेसरी दुखी रोएको कुरा आमाले मसँग भनिन् । साँझमा नै गइ ती ढुंगाहरु सोहोरेर बाटो सफा पारें । गाई भैंसी थोरै भए खेत बारीलाई मल नपुग्ने हुँदा गोठभरी पाल्थें । भैंसीको घीउ बेची अलिअलि पैसा पनि कमाउन सिकेको थिएँ । १२ पाथी घ्यू मान्छे लगाई बोकाएर बटौली (बुटवल) लगी बेचेर नुन तेल र ओरापरी समेत ल्याउँथे । घ्यू बेचेको चिनो एउटा ठूलो तामाको गाग्रो (रोंहोचे) राखुं भनी बटौलीबाट किनेर बोकाइ लगें । त्यो रोंचे अहिले पनि घरमा छंदैछ । मेहनत गर्न म कहिले पनि पछि नहट्ने हुनाले मलाई कहिल्यै के खाउँ के लगाउँ भन्ने पनि भएन ।

हराएको भैंसी खोज्न जाँदा

जंगलमा चराउन लगाइदिएको भैंसी हराएकोले अर्खाबाट पनि टाढा अर्तुवाङ्गसम्म सोध्दै खोज्दै जाँदा भैंसी पत्ता लाग्यो । म परिक्षतकाकाको दाजु छविलालसँग गएको थिए । भेटाएर पालेको अबस्थामा भैंसी भेटियो । पालेवापत पैसा मागेकाले र हामीसँग पैसा नभएकोले हामीहरुले ओडेको च्यादरहरु छोडेर भैंसी लिएर हिड्यौं । बाटो निकै कठिन र टाढा थियो । एउठा गोठ मात्र भएको र घरवस्तीहरु नभएको ठाउँमा झमक्क रात प¥यो । त्यहाँ बस्यौं । लेकको ठाउँ निकै जाडो थियो । खाने कुरा पनि केही थिएन । च्यादर पनि नभएको हुनाले जाडो खपी नसक्नु भयो । आगो पनि हामीसँग थिएन । ती छविलाल काका त झनै सिकिस्त जस्तो पो हुनु भयो । हामी त मरिन्छ । भैंसी दाम्लामा मर्छ, दाम्लो खोली दिन भन्नु भयो । अनि मैले मेरो आस्कोट खोलेर लगाइदिए । मेरो पटुका पनि खोलेर फनफनती उहाँको शरीरमा बेरिदिए । तर पनि उहाँको ज्यान तातेन । अनि त्यो गोठमा भएको घुरपात सबै बटुलेर त्यसले छोपेपछि बल्ल अलिअलि उहाँको जीउ तात्यो। म भने डुगडुग काप्दै बल्ल बल्ल रात गुजारे । अर्को दिन भैंसी लिएर घर आयौं ।

माइली र कान्छी छोरीहरुको विवाह

त्यस समयमा छोरीलाई पढाउने चलन त्यती थिएन । पढाउनको साटो घाँस दाउरा ल्याउन, गाई बाख्रा चराउन पठाउने चलन थियो । छोरीको विवाह धेरै नै कम उमेरमा गरिदिनु पर्ने त्यस बेलाको चलन अनुसार माइली छोरी विमाकुमारीलाई सानै उमेरमा अम्मिरमा कुलानन्द घिमिरेसँग विवाह भयो ।  त्यसपछि कान्छी छोरी पनि हुर्किइ सकेकी हुनाले पन्ध्र वर्षको उमेरमा लाँहाटा भन्ने ठाउँमा यमलाल पन्थीसँग विवाह गरी दिइयो । भावीले लेखेको र छालाले छेकेको कसैले नदेख्‍ने भनेझैं उसबाट एउटी छोरीको जन्म दिएर सुत्केरी भएपछि गम्भीर बिरामी भएकोले उसले यस संसारबाट विदा लिई। उसबाट जन्मिएकी छोरीले पनि हामीलाई छोडेर केही दिनमा गई । आमालाई लगेपनि छोरीलाई छोडेको भए त आज देख्‍न मन डुलाउन त हुन्थ्यो तर के गर्ने भगवानको लीला कसलाई के थाहा । त्यतापट्टिबाट भने मलाई सन्तोष भएन ।

कान्छा छोराको पढाइ

अब कान्छो छोरा डोरनाथको कुरा गरौं । ऊ सानैदेखि चन्चले स्वाभाव भएको एकदमै टाठो, फुर्तिलो र जाँगरिलो थियो । पोखरामा स्कुल बनाउने कार्यक्रम हुनाले उसलाई छ सात वर्षसम्म पनि स्कुल पठाएको थिइन । लगभग आठ वर्षको थियो होला, पोखरामा स्कुल बनाउने भनी म त्यहाँ गएको थिएँ र ऊ पनि मसँगै गएको थियो । त्यही समयमा मास्टरहरुले उसलाई भोलीदेखि स्कुल आउन भने । उसले हुन्छ भनी खुशी हुँदै घरमा आएर सबैसँग भन्यो । अनि अर्को दिनदेखि देखि स्कुल गयो । स्कुल जाँदा घरमै दाजुसँग अलि अलि पढेको हुनाले स्कुल गएदेखि सरासर राम्रो गर्दै गयो । त्यहाँबाट उसले तीन कक्षा पनि पास ग¥यो । अनि ४ कक्षामा पढ्नको लागि त्यहाँ स्कुल थिएन, तल सिमलटारीमा जानु पथ्र्यो । त्यसैले ऊ पढ्नको लागि एक÷डेड घण्टाको बाटो सिमलटारी गयो । आफूले सँधै सानो देखिने हुनाले बाबु खोलो बढ्छ खोलाको बाटो नगए पखेरातिरबाट गए भन्दा उसले हामीसँग त हुन्छ भन्थ्यो तर खोलाको बाटो नै जान रुचाउँथ्यो । विभिन्न पासाहरु बनाएर चराहरु मार्ने, सिकर्मीको काम गर्ने जस्ता काममा चाख राख्थ्यो । त्यस्ता कुरामा चासो राखेपनि पढाइमा पनि झनै मेहनत गर्दथ्यो । पछि घरबाट नजिक पर्ने निम्राङ्गमा नयाँ स्कुल खुलेको हुनाले ५ कक्षा देखि ७ कक्षासम्म पढ्यो । ८ कक्षा देखि एस एल सी सम्म सिमलटारीबाट पास ग¥यो र त्यहाँभन्दा माथि पढ्न दाजुसँग काठमाडौं आयो ।

तीर्थ ब्रत र यज्ञ यज्ञादिहरु

(क)    काशी गयाजीको तीर्थः अब छोराछोरी सबैलाई आआफ्ना बाटोतिर लागे । मलाई पनि तीर्थ ब्रत गर्ने मन लागेको थियो । छोरा नित्यानन्दले २०३६ सालमा काशी गयाजीको तीर्थ जानेकुरा मलाई सुनायो । अनि म लगायत श्रीमती र छोरा गरी तीन जना तीर्थको लागि काशी गयौं । त्यसपछि पनि हामी काँशी बाराणसीको तिर्थयात्रामा २०४५ सालमा ठूला छोरासँगै दोहो¥याएर पनि गयौं । यसपटक मैले आमा बुबाको श्राद्ध पनि गयामा गरेको थिएँ ।

(ख)   काठमाडौंको तिर्थयात्राः त्यसपछि २०३७ सालमा माइला छोरा झविन्द्रले शिवरात्रीमा पशुपतिमा तीर्थ गर्नको लागि काठमाण्डौं बोलायो । ठूलो छोरासँग काठमाडौं आयौं । त्यति बेला काठमाडौंमा अहिले जस्ता धेरै घरहरु थिएनन् । छिचोल्न, भेटाउन पनि सकिन्थ्यो । माइलो छोरा झविन्द्र अध्ययनको सिलसिलामा काठमाडौंमै भएको र हाम्रो पनि एकपटक शिवरात्रिको अबसर पारेर श्री पशुपतिनाथको दर्शन लगायत काठमाडौंका अन्य देवदेवी तथा शक्तिपीठहरुको तीर्थ गर्ने इच्छा भएकोले २०३७ सालको माध महिनामा टोरेटा चितेपानेका तीन जना, अमिलारुखे थानिश्वरका दुईजना र म, श्रीमती र ठूलो छोरा नित्यानन्द गरी जम्मा ८ जना टुँडिखेल नजिकको बसपार्कमा दिउसोको करिव ३ बजेतिर आयौं । अहिले जस्तो सञ्चार थिएन, झविन्द्र काठमाडौंको गैह्रिधारा बस्ने भन्नेमात्र थाहा थियो । हामीलाई त्यहीं बसपार्क अगाडिको चौरमा आरामसँग एकै ठाउँमा बस्नुहोला, यता उता नलाग्नु होला हामी (नित्यानन्द र थानिश्वर) झविन्द्रको बस्ने ठाउँ खोजेर पछि यहीं लिन आउँछौं भन्दै गए । यता झविन्द्रलाई पनि आज हामी आउँदै छौं भन्ने थाहा छैन । घाँम ढल्किसकेका थिए । यति ठूलो शहरमा कसरी भेट्न सक्लान् ? कतै यी दुवैजना हराएर हामी सबै अलपत्र परिने त होईन भन्ने चिन्ता पनि लाग्यो । तर त्यस्तो केही नभैकन झविन्द्रलाई भेटाएर ३ जना हामीलाई लिन करिब ६ बजेतिर आइपुगे । हामी सबै रत्नपार्कबाट हिंडदै गैह्रिधारा गयौं । लामो पैदल तथा बस यात्राबाट थाकेर काठमाडौंको गन्तव्यमा पुगियो । काठमाडौं जाने बुझेको छोरा भेट्दा र बस्ने ठाउँमा पुगेर झोलिझाम्टो बिसाएर गफिंदा स्वर्गीय आनन्दको अनुभूति भयो । पढ्ने विद्यार्थी मेरो छोरा र सँगै बस्ने अर्को उसको साथी २ जनाको एउटा भाडाको कोठा रहेछ । अब हामी १० जनाको त्यही ठाउँमा कसरी खानपिन, ओड्ने ओच्छ्याउने बन्दोबस्त होला भन्ने लागेको थियो । तर त्यो घर गुल्मीको वामीका मानिसको रहेछ, उनको भतिजो झविन्द्रको कलेजमा सहपाठी र सँगैबस्ने साथि रहेछन् । त्यस घरमा अरु पनि गुल्मीकै विद्यार्थीहरु पनि बस्दा रहेछन् । अरु खाली कोठाहरु पनि रहेछन्, भाँडाकुँडा, लत्ता कपडाको कमी रहेनछ । ६ दिनको काठमाडौं बसाई र तिर्थयात्राका समयमा पशुपतिनाथ, गुह्येश्वरी, बुढानिलकण्ठ, बालाजूको २२ धारा लगायतका अन्य शक्तिपीठहरुको पनि दर्शन गरियो । शिवरात्रिको दर्शनमा जाँदा हुलमुलमा चितेपाने बा का माइला छोरा समूहबाट छुट्टिएर हराउनु भयो । केही बेर अब कसो गर्ने भन्ने सबैमा चिन्ताको बिषय भयो । त्यहाँ समूहबाट छुट्ने वा हराउने व्यक्तिहरुको लागि खवर गरेपछि यस ठाँउमा तपाईको मान्छे पर्खेर बस्नु भएको छ, जहाँ भएपनि आउनुहोला भन्दै माइकबाट बोलाउने व्यबस्था रहेछ । झविन्द्रले गएर लेखाएछ, त्यसपछि चारैतिरबाट भीमलाल अर्याल जहाँ भएपनि यस ठाउँमा आउनुहोला भने पछि सबैको भेट भयो । त्यस्तो भीडभाडमा पनि बिछोड हुँदा भेट गराउने व्यवस्था राम्रो लाग्यो । त्यसपछि हामी घर फर्कियौं । यसरी पछिल्ला दिनहरुमा लामो समय काठमाडौं आएर छोराहरुसँग बसिन्छ भन्ने कल्पनै थिएन । झविन्द्र चाँही त्यहीं पढिरहेकोले उ त त्यहीं बस्यो । त्यतिबेला गुल्मीको रिडीसम्म मात्र गाडी चल्थे । त्यहाँबाट हिंडेर घर जानु पर्थ्यो ।

(ग)    मुक्तिनाथको तिर्थयात्राः ठूला छोराले एक दिन गाउँका मान्छेहरु मुक्तिनाथ जाँदैं छन् आमाले पनि जान मन गर्नु भएको छ जाने हो की भनेर सोध्यो ! मैले पनि स्वीकारे र मुक्तिनाथको लामो पैदल यात्रामा गाउँ टोलका अन्य मन मिल्ने व्यक्तिहरुको समूह बनाएर हामी मुक्तिनाथ यात्रामा लाग्यौं । यात्रामा खाने ओड्ने सबै सामाग्री बोकेर गएका थियौं । जान आउन गरेर १३ दिनभित्र मुक्तिनाथको तीर्थयात्रा पूरा गरी सकुसल घर फर्कियौं । यस तिर्थयात्राको यकिन तिथिमिति भने सम्झन सकिन तर २०४९ सालको हिउँदमा जस्तो लाग्दछ ।

(घ)    सप्ताह तथा तोला चढ्ने यज्ञः मैले तोला चढ्ने र ७ दिने सप्ताह गर्ने विचार गरी छोरासित भनें । छोराले खुशी हुँदै दिन हेराउँदा २०५२ सालको फागुनको ७ देखि १५ गतेसम्ममा राम्रो दिन निस्कियो भन्यो। सरसमान जुटाई चारैतिर निम्ता पठाइयो। पण्डितहरुलाई पनि बोलाई तयार पारियो । तयारी भएको बेलामा नै काठमाडौंबाट ठूली नातिनी मीना र डोरनाथ भइ घरमा आउनको लागि हिंड्यौं भनी खबर गरे । त्यसको केही घण्टापछि नारायणघाटमा खैरेनी जाने बस दुर्घटना भएको खबर सुनियो । कतै त्यही बसमा परेकी भनी निकै पीर प¥यो । त्यसै गर्दा गर्दै भोलीको दिन बित्यो । भोलीको साँझसम्म पनि उनीहरु घर आएनन् । साँझसम्ममा पनि घरमा नआइपुग्दा हामीहरुको मुटु ठाउँमा रहेन । ठूलो छोरा निताले हामीहरुको तड्पन सहन नसकी बेलुकी सिमल्टारी गई तम्घास फोन ग¥यो । तम्घासबाट त्यहाँका मानिसले यहाँ आइपुगे आज रात परेकोले यहीं बसे भोलि बिहान आउँछन् भनेछन् । त्यसपछि छोरा खुसी हुँदै घरमा आइ हामीलाई शुभ समाचार सुनायो । हामी पनि खुशीले गद्गद भयौं । त्यसको भोलिपल्टैदेखि यज्ञ शुरु गरियो । सात दिन सम्म सप्ताह लगाइयो । तुलादान (तुलामा एकातिर ढ्याक पैसा राखी अर्को तिर आफू बसेर मलाई धन पैसाले पुग्यो भनेर गरिने यज्ञ) पनि चढियो । बत्ति जलाउने (पोल्ने) सबै काम सिध्याई अन्तिम दिन तुलादान, गाई दान, सिध्याई बाजागाजा बजाउँदै नाच्दै हामीहरुले फुलपाति सेलाएर यज्ञ सकायौं । यसरी तिर्थब्रत, यज्ञयज्ञादि, दानदक्षिणा गर्दा मलाई अत्यन्त आनन्द र खुशिको अनुभव हुने गर्दथ्यो र अहिले पनि हुन्छ ।

(ङ)    चौरासी पूजा (सहस्र चन्द्र दर्शन)ः छोराहरु धेरैजसो विदेशस्थित राजदूतावासमा सरुवा हुने हुँदा हामी पनि उनीहरुसँगै साथै जाने गथ्र्यौं । यो पूजा गर्नका लागि नेपालमै साइत निकाल्नु पर्ने हुँदा त्यस अनूकूलको समय मिलिरहेको थिएन । चौरासी पूजा गर्न पाइँदैन कि भन्ने मनमा कता कता पीर लागिरहन्थ्यो । सो पूजाको साइत १२ जेठ २०६७ (२६ मे २०१०) का दिन जु¥यो । घर परिवार, नाता गोता, इष्टमित्रलगायतको सहभागितामा हामी दुवैजनाको संयुक्त रुपमा चौरासी पूजा काठमाडौंमा सुसम्पन्न गरियो । त्यसै समारोहको अवसर पारेर नाति आशिष अर्याल (झविन्द्रको छोरा) को ब्रतबन्ध पनि गरियो । यो पूजा सम्पन्न भएपछि जीवनमा थप उर्जा र आनन्दको अनुभूति हुँदो रहेछ ।  

दाजु, आमा र दाजुको छोराको मृत्यू र आर्थिक समस्या

बिगत केही समयदेखि नै ठुलोदाजु विरामी हुनुभयो । अनि २०३७ साल असार १० गते गङ्गा दशहरा तिथिमा दाजुको स्वर्गवास भयो । अर्को भाइ छुट्टिइसकेको थियो । अब दाजुको सम्पूर्ण कार्यभार म माथि नै थपियो । त्यसपछि काजक्रिया सिध्याएर आमा र भाउजु तलकै घरमा बस्नुभयो । हामीहरु माथि अर्थात गोठमा नै बस्यौं । दाजुको एउटा गर्भे छोरा पनि जन्मिएको थियो । त्यही छोरालाई आमाले स्याहार सुसार गरी पाल्नुभयो । दिन बित्न के बेर दिन बित्दै गयो अनि २०४१ सालको साउन महिनाको औंशी तिथिमा आमाले पनि हामीलाई यस संसारबाट छोडेर जानुभयो । जे जस्तो आइपरेपनि आफूलाई परेपछि सहनुपर्दो रहेछ । आमाको काजक्रिया गरी वर्ष दिनको पिण्ड चलाएपछि आमालाई सद्गद गर्दादेखि लाएको ऋण त छदै थियो । अझ त्यस माथि फेरी प्रमानन्दसँगबाट एउटा घरबारी पनि किनें । अब रिणको जग बस्यो । तिर्ने उपाए केही थिएन । त्यसैगरी दिन वित्दै थिए ।

दैवको खेल दाजुको त्यो एक मात्र छोरा एकदिन हाँस्दै खेल्दै पोलेको मकै खाँदा एक टुक्र असल्लिएर (सर्केर) फोक्सोमा पुगेछ । त्यसको उपचारको लागि तम्घास पाल्पा बुटवल हुँदै काठमाडौंको बीर अस्पतालसम्म पु¥याइयो । उपचार गर्दा गर्दै उसले यस संसारबाट विदा लियो । अब भाउजुको मन बुझाउन साह्रै कठिन भयो । प्रमानन्दबाट बीस हजारमा घरबारी किनेको थिएँ । तीन तिरको बसाइ थियो । सबैतिर अन्नपात पैसा के कति छ त्यो सबै मैले नै हेर्नुपर्थ्यो । तीन तिरको बसाई गरी दुई वर्ष जति विताएपछि भाउजु पनि छुट्टिएर बस्छु भन्नुभयो । उहाँलाई चलसम्पत्ति सबै रोज्नुहोस् मैले छोडेको मात्र लिन्छु भनी उहाँलाई रोजाइ दिएँ । तलमाथि हुनाले अचल सम्पत्ति पनि यति तपाईंलाई यती मलाई भनी छुट्याएँ । अनि तपाईंको सानो परिवार हुनाले त्यही किनेको सानो घरमा बस्नुहोस् तपाईंको ऋण म आफै व्यहोर्छु भनें । अनि भाउजुलाई किनेको नयाँ घरमा पठाएँ ।

अब फेरी ऋण पनि तिर्नु पर्र्यो । मलाइ त आफुले मेहनत गरेको ठाउँ बेच्न मन थिएन । ठूलो छोराले २०४५ सालतिर तिम्लेको एक कित्ता जमिन १५ हजारमा बेचेर घर किन्दा खेरिको र अरु बाँकी रहेको ऋण ति¥यो । त्यसपछि ठूलो छोराबाट पनि धेरै केटाकेटीहरु जन्मिएका थिए । फेरी ५५ हजारमा तिम्लेको अधिकांश घरबारी बेची त्यहीको उपल्ला बारीमा एउटा कटेरो बनाएर बसियो। त्यसै समयमा तल बाइसबिसौनामा बारी, कटेरो र ख¥यान गरी ४३ हजार र खेत २५ हजारमा किनी पास गरियो । तिम्ले अर्थात गोठको सम्पूर्ण जग्गा विक्री गरी तल लाम्पाटा आउँदा त्यहाँका छिमेकी तथा इष्टमित्रहरु डाँको छोडेर रोएका थिए । मेरा सरसमानहरु सबै बोकी तलसम्म ल्याइदिए ।

माइला छोरासँग साउदी अरेविया जाँदा

२०५० साल बैशाख ०७ गतेदेखि माइलो छोरो झविन्द्र नेपाली राजदूतावास साउदी अरबमा सरुवा भई त्यहीँ कार्यरत थियो । उसले त्यहाँ हामीहरुलाई पनि बोलायो । २०५१ साल मार्ग महिनामा हामी साउदी अरेविया गयौं । कान्छो छोरा डोरनाथ काठमाडौंबाट हामीलाई लिन घरमा आयो । उसको शाखा अधिकृतको अन्तरवार्ताको दिन नजिक आएको हुनाले ऊ पुगेको एक दुई दिन भित्रै घरबाट साउदी अरेबियाको लागि हिड्यौं । घरबाट हिड्दा सबैजना छोराछोरी नाति नातिनाहरु तलको घरसम्म पछि लागेर रुंदै आए । तल बाँझबिसौनाको घरबाट विदा हुँदा विमला नातिनी, माइली छोरी र ठूलो छोरा रुँदा हामीहरुको पनि आँखा भरी आँसु भए । अर्को तर्फ हामीलाई बाहिर जाने भनेपछि निकै उत्सुकता पनि लागेको थियो । त्यस दिन हामी तिन जना तम्घास आएर बस्यौं । तम्घासबाट अर्को दिन दुई बजे बसमा चढी काठमाडौं गयौं । त्यसपछि डोरनाथले अर्को गाडीमा राखी आफ्नो डेरा कालिकास्थानमा लग्यो । कोठामा जम्मा एक दिन मात्र बस्यौं । डोरनाथले हामीले लैजाने झोला लुगाहरु तयारी गरिसकेको थियो । अर्को बिहान नौ बजेतिर साउदीको साइत सारी डोरनाथले हामीलाई एयरपोर्टसम्म पु¥याई दियो । हामी दुई जना टिकट लिई नेपाल बायु सेवा निगमको १०ः३० बजेको जहाजमा उड्यौं । त्यहाँ भित्र बस्दा आफूले चिने जानेको कोही थिएनन् । केवल एकजना साउदी अरबमा नेपाली राजदूतकोमा खाना पकाउने राजेन्द्र शर्मा भन्ने व्यक्ति मात्र थिए । हामी पढ्लेख नभएका र प्लेनको त्यस्तो यात्रा नगरेका हुनाले के कसो हुने हो, प्लनेको यात्रामा के कसो गर्नु पर्ने हो ती राजेन्द्र भन्नेले सहयोग गरेनन् भने कतै हराइन्छ कि भन्ने डर पनि थियो । हुनत उडिरहेको प्लेनबाट बाहिर निस्कन सम्भव थिएन तैपनि मैले ती राजेन्द्रलाई बेला बेलामा चियाइ रहन्थें । त्यहाँबाट छुटेपछि गलभग एक घण्टाजति पछि जहाजले बंगलादेशको राजधानी ढाका पु¥यायो । ढाकामा दुई घण्टाजति रोकेपछि त्यहाँबाट अर्को विमानमा चढी साउदी अरबको एयरपोर्टमा पुग्यौं । त्यहाँ छोरा झविन्द्र हामीलाई लिन आएको थियो । एकघण्टा जति गाडिको बाटोपछि हामी उसको निवासमा पुग्यौं । त्यहाँको बाटो घाटो भवनहरु आदि देख्दा आश्चर्य प¥यौं । त्यहाँ छोरा बुहारी नाति नातिनी थिए । एक महिनापछि झविन्द्र छोराकी कान्छी छोरी सबिता जन्मी । त्यसको न्वारान गरियो । रमाइलोसँग दिन बित्दै गए तर बीच बीचमा घर तिरको सम्झनाले भने घचघचाई रहेको थियो । त्यहाँ बसेको दुई महिना बित्दा नवित्दै, नेपालबाट हिड्दाखेरी छोराछोरी र नातिनीहरु रोएको मात्र याद आउन लाग्यो । छोरालाई भनेर गएको ३ महिनापछि काठमाडौं हुँदै लाम्पाटा फर्कियौं ।

गुल्मीबाट काठमाडौं आगमन

२०५६ साल माघ १५ गते छोराहरुसँग काठमाडौं आयौं । त्यस पछि बेलाबखत जेठो छोरासँग गुल्मी गए पनि प्रायः काठमाडौ तथा छोराहरुसँग विदेशमा नै बस्दै आएका छौं । यसै मितिदेखि जीवनभर गरेको कृषि तथा पशुपालन व्यबसाय, पैतृक सम्पत्तिको हेरबिचार, स्याहार सम्भार सबैबाट हामी बुढाबुढी दुवै जनाले पूर्णरुपले विश्राम वा अबकाश लिएर माइलो र कान्छो छोराहरुसँग बिदेशमा हुँदा बिदेशमै र नेपालमा हुँदा काठमाडौंमा स्वर्गिय आनन्दकासाथ जीवन बिताइरहेका छौं । हामी काठमाडौं आएपछि गुल्मीमा आफ्ना बावु बाजे, पिता पुर्खाले आर्जेको, आफ्नो रगत पसिनाले कमाएको, मुद्दा मामिलामा लडेर भिडेर जोगाएको पैतृक सम्पत्तिको भित्रैबाट माया लाग्दछ, संझना आउँछ । तर के गर्ने जान आउन सहज छैन । आफ्नो घर गोठ, खेत वारी, आफैले लगाएका फलफूल तथा रुख वृक्षहरु, छर छिमेक सम्झना आईरहन्छ । बेला बखत छोराहरु जाँदा सबैतिरको भिडियो तथा तस्वीर खिचेर ल्याउन भन्छु र हेर्दा आनन्द लाग्दछ । ठूलो छोरा नित्यानन्द त्यहीं बसेर भोगचलन र स्याहार संभार गर्दासम्म सन्तोष नै लागेको थियो । आजकल गाउँमा मानिसहरु बस्न छाडे । ज्याला मजदूरी गर्ने मानिसहरु नहुने भए, खेतिपाति गर्ने र बस्तुभाउ पालेर जीवन निर्वाह गर्न कठिन हुँदै जानु र नित्यानन्दका पनि छोराछोरीहरु धेरैजसो काठमाडौंमै वा विदेशतिर हुँदा उ पनि सबै त्यहाँको श्रीसम्पत्ति यथाबत रुपमा छोडी काठमाडौंको चन्द्रागिरी नगरपालिका अन्तर्गत सतुङ्गलको हरियाली बस्तिमा बसाई सरेको पनि तीन चार वर्ष भैसके ।

माइला छोरासँग बेल्जियमको भ्रमण

माइला छोरा झविन्द्रको नेपाली राजदूतवास बेल्जियममा सरुवा भएको थियो र हामीहरु दुईजना बेल्जियममा गयौं । जाँदाखेरी छोराबुहारीका साथ छोराबुहारी नातिनातिना गरी जम्मा ७ जना ०३ श्रावण २०५८ (१८ जुलाई २००१) मा सँगसँगै वेल्जियम गयौं । बेल्जियमको २२५ सिडी चढेर गएको टापु (वाटरलू युद्धको स्मारक), राजदरवार, अग्ला अग्ला सिसाका महलहरु लगायतका कुराहरु असाध्यै राम्रो लाग्यो । यो हाम्रो पहिलो युरोप भ्रमण थियो । बेल्जियन राजाको दरवार, हैजलको अटोमियम, रमणीय पार्कहरु लगायतका रमणीय स्थानहरुमा घुमफिर गरियो । नेपाली राजदूतावास, नेपाली राजदूत (केदारभक्त श्रेष्ठ) र उहाँ बस्ने घर र उहाँको परिवार, दूतावासका अन्य कर्मचारीहरु शंकर वैरागी, थान प्रसाद शर्मा, जीत बहादुर कार्की र परिवारका सदस्यहरू साथै अन्य स्थानीय कर्मचारीहरुबाट आदर सम्मानका साथ आवत जावत खानपान गर्दै रमाइलो वातावरणमा त्यहाँ हामी तीन महिना बस्यौं र त्यसपछि हामी काठमाडौं फर्क्यौं।

कान्छो छोरासँग ल्हासाको भ्रमण

कान्छो छोराको सरुवा नेपाली महावाणिज्यदूतावास ल्हासामा भएको थियो । म र मेरो श्रीमती त्यता तर्फ लाग्यौं । माइला छोराले एयरपोर्टबाट प्लेन चढायो । ल्हासा एयरपोर्टमा लिन कान्छो छोरा आएको थियो । हामी जाने दिन १९ जेठ २०५८ (०१ जुन २००१) मा दरवार हत्याकाण्ड भएको दिन थियो । दरवारको हत्याकाण्ड राती थाहा भयो । हल्लाखल्ला भयो । यताउता फोन गर्ने काम भयो त्यस राती धेरै मान्छेहरु सुतेनन् पनि । अर्को बिहानै हामीहरु ल्हासा जाने कार्यक्रम थियो । कर्फ्यू लाग्ला, के के होला जान सकिदैन होला भन्ने लागेको थियो । डराई डराई घरबाट निस्क्यौं । तर त्यस्तो केही भएन । मान्छेहरु एक आपसमा कुरा गरिरहेका थिए । पत्रिका लिन लुछाचुडि गरिरहेका थिए । मलाई दमको रोग हुँदा मलाई लेकलाग्न सक्ने डर त लागेको थियो । तर त्यस्तो केही भएन । ठाउँ असाध्यै राम्रो । डाडाकाँडा, नदीनाला हेर्दा साह्रै आनन्द आयो । पोतला दरवार, झोखार, ढेबुर, शेरा लगायतका गुम्बा हे¥यौं । ब्रमपुत्र नदि र ल्हासाकुसिको दोभानमा गएर नुहायौं । त्याहाँका मान्छेहरु असाध्यै सहयोगी र अरुलाई आतिथ्य प्रदान गर्ने रहेछन् । घाम लागिरहने, राम्रो बाटोघाटो रमाइलो लाग्यो । महावाणिज्यदूतावासमा दरवार हत्याकाण्ड पछि आयोजना गरिएको शोक सभामा हलभरी त्यहाँ बसोवास गर्ने प्रायःजसो नेपाली उपस्थित भएका थिए । कोही त डाँको छोडेर रोएका पनि थिए । त्यहाँका महावाणिज्यदूत शंकर पाण्डे र उहाकी श्रीमती प्रभा पाण्डे र शंकर पाण्डेकी बहिनी कमला असाध्यै मीठो बोली बचनका रहेछन् । आफ्नै आमा बुबालाई जस्तै माया गरेको हामीले पायौं । पारस पण्डित बाबु, शरद पौडेल उनकी श्रीमती रुपा, स्थानीय कर्मचारी श्यामको सम्झना आइरहन्छ । भक्तबहादुर थापा भन्ने स्थानीय कर्मचारी पनि अति सहयोगी रहेछन् । उनले गुम्बा गुम्बामा डुलाए । हामी करिव एक महिनाको बसाई पश्चात १३ आषाढ २०५८ (२९ जुन २००१) मा काठमाडौं फर्क्यौं ।

बेलायतको भ्रमण

माइला छोराको बेलायत र कान्छा छोराको डेनमार्कका नेपाली राजदूतावासमा सरुवा भएकोले हामीहरु त्यहाँ पनि जाने, घुम्ने, रहन सहन हेर्ने, पश्चिमा देशका सर सुविधा र विकास आफ्नै आँखाले देख्ने र भोगगर्ने मौका पायौं । श्रीमती कान्छी बुहारी र नाति नातिनीकासाथ २०६४ असारमा डेनमार्क गए । कान्छो छोरा डेनमार्कमा नयाँ खुलेको राजदूतावास हुनाले राजदूतावास खोल्न अगाडि गइसकेको थियो ।

म पनि २ दिनको फरमा २३ असार २०६४ (०४ जुलाई २००७) मा माइला छोराका साथ बेलायत गएँ । दशैंमा कान्छो छोराका परिवार सहित सबैजना भएर लण्डनमा मनायौं । निकै रमाइलो भयो । बढी उमेर भएको नाताले राजदूतावासमा आउनु भएका अतिथिहरु र राजदूतावासका कर्मचारी तथा कर्मचारीका परिवारलाई मैले टिका लगाइ दिएँ । नेपाल जस्तै लाग्यो बेलायत । प्रशस्त नेपालीहरुको बसोवास भएको रहेछ। लव बाबु, रुनुनु नानी खीमानन्द भुसाल गणेश अधिकारी र उनका परिवारहरु एवं राजदूतावासका अन्य कर्मचारी तथा परिवारहरु सबैबाट असाध्यै माया पाइयो ।

लण्डनमा नेपाली राजदूतावास र प्राय सबै कुटनीतिक कर्मचारीहरुका निवास एउटै भवनमा रहेछन् र त्यो भवन त्यहाँको ठूलो हाइडपार्कसँगै जोडिएको रहेछ । त्यस मनमोहक पार्कमा म धेरैजसो जाने घाम ताप्ने गर्दथें । बस्नकोलागि ठाउँ ठाउँमा बेञ्चहरु थिए ससाना तलाउहरुमा माछा र हाँसहरु उफ्रेको पौडेको हेरेर आनन्द लिन्थें र घर फर्कन्थें । मैले सँधैजसो नै दौरा सुरुवाल र ढाकाटोपी लगाउँथें । मेरो लवाईबाटै चिनेर कोही नेपाली र कहिले काहीं नेपाल घुमेका वेलायतीहरु पनि नमस्ते भन्दै मेरा नजिक आएर कुरा गर्थे । एक दिन एक नेपाली महिला करिव २८।३० वर्षकी जस्ति ५ वटा करिव ४।५ वर्ष उमेरका कोही काला कोही गोरा कोही गहुँगोरा बच्चाहरु लिएर मेरो नजिकै आएर बुबा नमस्कार भनिन् । मैले तिमी को हौ के यी सबै बच्चाहरु तिम्रै हुन नानी भनेर सोधें । मलाई पनि आश्चर्य लागिरहेको थियो कसरी यी सबै एकै उमेरका छन् रङ्गपनि फरक फरक छ । उनले हाँस्दै भनिन् होइन बुबा यी सबै अरुका बच्चाहरु हुन् यिनीहरु हेर्ने घुमाउने मेरो जागिर हो । वेलायतमा यस्तो जागिर पनि पाइँदो रहेछ भन्ने लाग्यो ।

कान्छा छोरासँग डेनमार्कको पहिलो भ्रमण

२०६४ कार्तिक ३० गते डेनमार्क राजदूतावासका कार्यवाहक राजदूत धनन्जय झा बाबु र उहाँको श्रीमतीका साथ हामीहरु दुबै जना कान्छोछोरा कहाँ बेलायतबाट डेनमार्क आयौं । डेनमार्कको ठाउँ पनि बेलायत जस्तै नै लाग्यो । शुरुमा नेपालीहरु कमै भेटिएको पाइयो तर पछि नेपालीहरुको संख्या निकै बढ्यो । प्रायः नेपाली विद्यार्थीहरु पढ्नको लागि आउँदा रहेछन् । सफा सुग्घर, शान्त र हरेक किसिमको सुविधा भएको ठाउँ असाध्यै राम्रो लाग्यो । जहिले पनि कहिले हाम्रो देश पनि यस्तो होला भन्ने लागि रहन्छ । यहाँका विभिन्न ठाउँमा घुम्यौं । हामी दुई जना भएर प्रायः हरेक दिन समुन्द्रको किनारसम्म घुम्न जान्थ्यौं । नाति नातिनाका कुरा सुन्दै जिस्काउदै बस्दथ्यौं । दुबै ठाउँको बसाइ हामीलाई स्वर्गै हो कि जस्तो लाग्यो । हिडी रहने हुनाले त्यहाँका छिमेकी विदेशीहरुले चिनेर बाटोमा भेट्दा हेल्हो भनेर हात उठाउँथे । हामीले पनि त्यसै गर्दथ्यौं । भाषा नजानेकोले मन भए पनि दोहोरो कुरा गर्न सकिदैनन्थ्यो । डेनमार्क र लण्डनको दूरी धेरै टाढा रहेनछ र हामी छोराहरुको कार्यकालभरी कहिले लण्डन कहिले डेनमार्क आवतजावत ग¥यौं ।

पुराना चिठी/समाचारहरुका कुरा

गाउँमा बस्दा हामीहरुले छोराहरुको चिठी हुलाकीले ल्याउँछकि भनेर प्रतिक्षा गरिरहन्थ्यौं । महिनौं लाग्थ्यो खबर आउन । जस्तो एक पटक ठूला छोराको १ बर्ष पछि मात्र चिठी आएको थियो । अहिले छोराहरुले जताततैको खबर तुरुन्तै ल्याउँछन् । कहाँ के भयो भन्ने तुरुन्त थाहा भइहाल्छ । कोठामा नै बसेर रेडियो नेपाल, नेपालका एफ एम रेडियो सुनिरहन्छु । कस्तो अचम्म । समाचार सुन्न मलाइ असाध्यै इच्छा लाग्छ । म सुनि रहन्छु । बेलुका छोराहरुले आजको खबर के छ बुबा भन्छन् । मैले बुझेसम्मको बताउँछु ।

राजाको टीका र प्रधानमन्त्रीलाई भेट्ने रहर पूरा

२०५६ सालको दशैंमा राजा बीरेन्द्रको हातबाट टीका लगाएको क्षण पनि अविष्मरणीय छ । सबै मेरा मनका कुराहरु भगवानको कृपाले र छोराहरुको प्रयासले पु¥याए । मेरो एउटा अर्को रहर प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेटगरी हात मिलाउने भएकोमा पनि छोराहरुले व्यवस्था गरे। उहाँसँग फोनमा कुरा गरेर छोराले मेरो इच्छाको बारेमा बताए पछि उहाँले एक दिन ११ बजेको समय दिनु भयो । म, मेरो श्रीमती, माइलो र कान्छो छोरा भएर गएका थियौं । गेटमा भन्नासाथ हामीहरुलाई छुट्टैबाटोबाट सरासर प्रधानमन्त्रीकोमा प¥ुयाइयो । दशैंको टीका लगाइ हात मिलाएर पटक पटक फोटाहरु खिचियो । क्यामराले शुरुमा नखिचेपछि एक छिन हात मिलाएको मिलाइ हुँदा प्रधानमन्त्रीले हाँसो गर्नु भएको थियो ।

प्रधानमन्त्री प्रचण्डसँग भेट

युद्धकालमा कैयौ पटक माओवादीका नेता कार्यकताहरु हाम्रो गुल्मीको घरमा आउने बस्ने, खाना खाने गर्दथे । यो हाम्रो माओवादीप्रतिको कुनै आस्था वा जानपहिचान भएर नभइ उनीहरु जो कसैको घरमा पनि गाउँमा यसैगरी आउने गर्दथे । भित्र भित्र हामीहरुलाई डर लाग्थ्यो तर बुढाबुढीलाई असाध्यै मायाँ गर्दथे । कहिले काहीं भाडा माझेर घाँस काटेर पनि सहयोग गर्दथे । उनीहरुका कुरा सुन्दा हामीहरु छक्क पर्दथ्यौं । प्रचण्डको कुरा पनि खुबै सुनिन्थ्यो तर मान्छे छन् कि छैनन भए कस्ता होलान जस्ता आदि कुराहरु मनमा लागि रहन्थ्यो । मौका सन्जोकको कुरा प्रधानमन्त्रीको नर्वे भ्रमणको बेला कान्छो छोरा डोरनाथ गएको थियो । नर्बे पछि फिनल्याण्ड हुँदै डेनमार्क आउने कार्यक्रम रहेछ । डेनमार्कमा एक दिनको छोटो कार्यक्रम रहेछ । उहाँ तथा निजको श्रीमतीसँग भेटघाट भयो । प्रचण्डले ढोग्नै थालेजस्तो गरी टाउको निहुराएर अँगालो मार्दै आदर गर्नुभयो । डेनमार्कको बसाइँ आदिको बारेमा सोध्नु भयो । अति नम्र र मिजासिलो हुनुहुँदो रहेछ । उहाँहरुलाई भेटेर फोटाहरु खिचाउन पाउँदा हामीलाई एउटा अनौठो अनुभूति र खुशी लाग्यो । मान्छे र बोली हेर्दा जनताको लागि केही त पक्कै गर्लान जस्तो लाग्यो । उहाँकी श्रीमती पनि साह्रै सीधासाधा हाम्रै गाउँघर कै महिला जस्तो लाग्यो ।

नातिनातिना र पनातिपनातिना

हालसम्म मैले मेरा २१ जना नातीनातिनी र २६ जना पनातीपनातिनी देख्‍न पाएकोछु । नेपाल बाहिर विदेशमा जन्मेका पनातिपनातिनीहरु पनि भिडियोकलबाट हेर्न देख्न पाइयो । धन्य छ यो सञ्चार प्रविधि ! मेरा सबै छोराछोरी, ठूलो छोरा, ठूली छोरी, माइली छोरीका सबै छोराछोरी र माइला छोराको छोरा (नाति) सम्मको विवाह गराउन देख्न पाएँ । ठूली छोरीको ठूलो नाति (मेरो पनाति) सम्मको विवाह सम्पन्न भयो । बाँच्नु ठूलो कुरो रहेछ, बाँचे धेरै देख्न भोग्न पाइँदो रहेछ ।

नुन लिन जाँदा भोगेका दुःख

पहिलो खेप कृष्णनगर नुन लिन जाँदा म करिब २५ बर्षको थिए । नुन लिन जाने आउने गरेर कुल १४ दिन लागेको थियो । हामी १०। ११ जनाको टोली थियो । पहिलो पटक जानेलाई केही रकम जसलाई पन्थे उठाउँदा रहेछन त्यसैले सबैजनालाई ५०÷५० पैसा दिए । त्यस पैसाबाट किनेर भने सबैले खाने चलन रहेछ । घरबाट डोको बोकेर गएको १४ दिन पछि ७ पाथी नुल लिएर फर्के । नुनको भाउ मोहर (पचास पैसा) पाथी थियो । रुखमुनि बास बस्दै काम्लो, च्यादर ओड्दै खाली खुट्टा हिड्नु पर्दथ्यो । त्यही नुनले एक बर्षको लागि पु¥्याउनु पर्दथ्यो । दोश्रोपटक नुन लिन बहादुरगंज गएको थिए त्यहांँबाट १३ दिन लाग्यो । त्यस्तै तौलिहवा तेश्रोपटक गएको थिए । त्यहाँ जाँदा ५ जनाको टोली १२ दिन लाग्थ्यो ।

चौथो पटक पत्थरकोट गयौं त्यहाँ जान आउन ७ दिन लाग्यो । त्यस पछि बुटवल जान लाग्यौं । त्यहाँ जान आउन १० दिन जति लाग्थ्यो । शायद अबको पिढींहरुलाई यस्तो कुरा सुन्दा आश्चर्य लाग्छ होला । विकास भएका देशहरुलाई हेर्दा हामी कति पछाडि रहेछौं अचम्म लाग्छ ।

मैले गरेका दाहसंस्कार काज–किरिया

के गर्ने जन्मेपछि मर्नै पर्ने । को अघि को पछि कसैले जान्दो रहेनछ । बुबाको १९९३ सालमा, बुबा बितेपछि साइला दाइको करिब १९९५ मा र जेठी भाउजु, ठूलोदाजु, दाइको छोरा र आमाको गरी ६ जनाको किरिया मैले गरें । आमा चौरासी पुजा गरी सकेपछि करिब ८७ बर्षको उमेरमा बित्नुभयो तर अरुहरुको भने उमेर नपुगी बैंसमा नै मृत्यु भयो । असाध्यै दुःख लाग्छ त्यो सबै सम्झँदा ।

मेरो विवाह तथा श्रीमती भुवनश्वरीको कुरा

हाम्रो विवाह हुँदा म २४ बर्ष र श्रीमती १९ बर्षकी थिइन । बि.सं. २००३ सालमा हाम्रो विवाह भएको कुरा त गरी सकें। ससुराहरु चार भाइ हुनुहुन्थ्यो । जेठोको नाम गङ्गाराम हो जुन मेरो ससुरा हुनुहुन्थ्यो । त्यस्तै माइला ससुराको नाम काशिराम, साइला ससुराको नाम पुनाराम र कान्छो ससुराको नाम जयलाल थियो ।

केटी हेर्ने विवाह गर्ने कुरा थिएन । बि.सं. २००० को फागुन महिनामा जेठो दाजुको मियालपानी विवाह भयो । अमिलारुखे जेठी आमाले कुरा चलाउनु भएको थियो । पढाइ लेखाइ छैन, सम्पत्ति छैन तर केटो भने बत्तिसगुणको छ भनेर केटीको घरमा कुरा पु¥याएको कुरा श्रीमती गर्थिन । डाँडे जेठी आबैले गरिब छन् त्यहाँ त हुँदैन भन्नु भएको रहेछ । डाडाकट्टी फणाधरका बुबालाई बोलाएर खाएजो हेर्न खोजेको तर मेरो जन्म मिति आमालाई समेत थाहा रहेनछ । आमाले बिदिखोलाको रिखेजन्मेको १५ दिन पछि मेरो जन्म भएको कुरा बताउनु भयो । उनको जन्म मिति सोधेर मात्र मेरो जन्म मिति थाहा भयो । त्यस पछि चिना बनाएर पत्ता लगाए पछि हाम्रो खाएजो हेरियो । भुबनेश्वरीलाई खेत रोप्न भनी लाम्पाटा अमिलारुखका घरमा बोलाइयो । उनैको घरमा विवाह सम्पन्न भयो । विवाहको दिनमा नै म अर्को ठाउँ तिम्ले अर्थात गोठ गएँ । गोठ घर गर्नु पर्ने बाध्यता थियो । विवाह हुँदासम्म पनि ससुराली, साला सालीहरुको बारेमा केही थाहा थिएन । एक रात बसेपछि अर्को दिन दुलाई पठाइएको थियो । अमिलारुखे जेठी आबैले दुलाई बोक्ने मान्छे खोजेर ससुराली जाँदा घरमा कोही रहेनछन् । त्यहाँ कोही नभए पछि माग्दी भन्ने ठाउँमा गयौं अनि त्यहाँ पनि नभेटे पछि अजमिर बुढामाओल जानु भएको रहेछ, त्यहाँ पुगियो । निकै भोक लागि सकेको थियो ।

भुवनेश्वरीको मसँग विवाह हुनु पूर्वको कुरा

पहिले भुवनेश्वरीको लागि केटा माग्न आएका रहेछन् । उनकै नातेदार छोराको विवाह गरिदिन्छौ छोरी दिन प¥यो भनेर आएछन् । दिन पनि मोटामोटी मन्जुर भएका रहेछन । भुवनेश्वरीले त्यो कुरा सुनिछन् । उनले माग्न आएको मान्छेको छोरालाई होला भनेको त त्यही बुढो मान्छेको लागि रहेछ । फुपु दिदीका श्रीमान् माग्न आएका रहेछन् । यतिबेला छोरीको विवाह गर्ने यतिखेर छोराको विवाह गर्ने भनेर ठीक्क पारेको थाहा पाएपछि भुवनेश्वरी रिसले आगो भएर कराउन थालिछन्। बरु म इनारमा हाम फालेर मर्छु त्यो बुढासँग विवाह गर्दिन भनिछन् । तिमिहरुले छोरी भनेर देख्‍न पाउने छैनौ भनिछन् । केटा गुनी छ सय मुरी धान उब्जाउँछन, गहनाले ढाकिन पाइन्छ आदि प्रलोभन देखाएछन् । छोरी मान्छे त्यसो गरिहाल्छन नि भनेर फुपाजुले भनेछन् । त्यो बुढो खप्पर मरी हाल्छ, मलाई धन सम्पत्ति गहनाको के काम गहना ढुंग्रामा राख्‍ने भनिछन् । तिमीहरु कसैले देख्‍न पाउने छैनौं भनेपछि एक मात्र छोरी त्यसो गरेको देखे पछि सासु ससुरा डराएर लुगलुग हुनु भएछ । माग्न आएका उनका फुपाजु निकै रिसाएछन् । तँ चाडै विधवा भएस भनेर श्राप दिएको पनि उनले सुनिछन् । त्यो पापी मरेर बरु मेरै ठुली आमा छिटो विधवा होउन भनेर श्राप दिइछन् । संयोग त्यसको लगत्तै उनको मृत्यू भएर विधवा पनि भइछन् । मलाई लेखेको कसले लान सक्थ्यो र ।

बाल्यकालका केही रोचक कुराहरु

(क)    १९९० सालको महाभूकम्पः म आठ बर्ष हुँदा १९९० सालको भुइचालो आएको थियो । बुबाले घर कुर्न भनेर वनतर्फ जानु भएको थियो । बेसरी हल्लेको थाहा पाएँ तर के भएको भन्ने थाहै थिएन पछि अरुले भनेर थाहा भयो कि त्यो त भुइचालो पो रहेछ ।

(ख)   मूला गोडेकोः एक पटक बुबाले मुला गोडेस भनेर घासपात जानु भएको थियो । उहाँले मुलाको झार गोड्न भन्नु भएको रहेछ तर मैले  बारीको सबै मुला गोडेर फालें । बुबा बेस्सरी हास्नु भयो के गरेको यस्तो भनेर गाली पनि गर्नुभयो ।

(ग)    आगो माग्दाः घरमा प्रायः सलाइ लाइटर हुँदैनथ्यो । आगो माग्न जाँदा परीक्षत गाउँका काका पर्नेले ले तेरो दौरा थाप भन्नुभयो । म सानो ७।८ बर्षको थिए । आगोको कैला दौरामा हालिदिए र म घरसम्म पुग्दा आगो लागेर झण्डै डढिन । आमाले निभाइ दिनुभयो । ती परीक्षत काका त्यस्तै किसिमका मान्छे थिए । पछि दुःखैसँग जीन्दगी बिताए । लाइटर सलाई प्रायः जसो घरमा हुने थिएनन् । घरमा आगो निभ्यो भने अर्काको घरबाट कोइला वा अगुल्टोमा आगो मागेर बाल्नु पर्ने हुन्थ्यो । म ठूलो भए पछि पनि एक पटक तिम्ले भन्ने ठाउँबाट टोरेटा आगो माग्न गएको थिए । करिब २५÷३० मिनेट जान लाग्थ्यो, त्यहाँबाट आगो मागेर ल्याउँदा निभेर दुःख पाएपछि मैले कहिल्यै झुलो र उलेनी खल्तिमा टुटाइन ।

(घ)    चुरोट विंडीको सेवनः बाह्र तेह्र बर्षको उमेरदेखि नै साथी भाइहरुको लहलहैमा लागेर सुरुमा सुल्फामा भुसाहा अनि पछि चुरोट, विंडी र हुँक्का सेवन गर्न थालें । हुँक्काले कम असर गर्दछ भनेर पछि पछि हुँक्काबाट तमाखु सेवन गर्न थालें । चिलिम नसेलाउँदै अर्को सल्काउने र तान्ने गर्नसम्म थालें । साठी बर्षको उमेरसम्म खाइनै रहें । छोराछोरीहरुले पटक पटक छोड्नका लागि अनुरोध गरेका थिए । २०४५ सालमा वनारस, काशी गयाजी तीर्थ गएको अबसरमा सुल्फा, चुरोट, विंडी र भूसाहा भागिरथी नदिमा फालेर आजीवन सेवन नगर्ने अठोट गरें । भित्र भित्र डर लागेको थियो छोड्न सकिन्छ कि सकिदैन भनेर । तर पनि मन दरिलो बनाएर छोडें । केही दिन अलिक तलतल् लागेको थियो । यो अम्मल छोडेपछि केही समय सपनामा पनि सेवन गरेको देखिन्थ्यो । शुरुमा तलतल् लाग्दा मिस्री, नरिवल, सुपारी आदि खाएँ । एक बर्षसम्म अरुले खाएको बास्ना आयो । पछि अरुले सेवन गरेको गन्ध पनि मन नपर्ने भयो । म सँगै मेरो ठूलो साला र पिपलारुख विष्णुभक्तले पनि छाडेका थिए । अहिले त सपना जस्तो लाग्छ । बेलाबेलामा लाग्ने खोकी सबै ठीक भयो । डक्टरको भनाइ अनुसार त्यसको असरले दमको रोग भने लाग्यो ।

(ङ)    चिना हेराउँदा ज्योतिषले भनेको कुराः छोरा छोरिले त त्यति विश्वास गर्दैनन् तर मलाई ज्योतिषले चिना हेराउँदा अहिले सम्मको कुरालाई आँखाले देखे जस्तो गरी पु¥याएका छन् उनले तिमिहरु भाइ त धेरै रहेछौ तर चुला भने तीन वटा मात्र हुनेछन् । तिम्रो ग्रह विमानमा पटक पटक उड्नेछ । देश विदेश सबै ठाउँमा चरो घुमे जस्तै गरी छोराहरुले घुमाउँछन् चिना धेरै राम्रो छ भनेका थिए । अनि मैले छोराछोरीको बारेमा सोधेको थिए । ठुलो छोरालाई पनि जे भनेका थिए त्यहिनै भइरहेको छ अरु दुई भाइ भन्दा पढाइ भने थोरै हुन्छ खेति किसानी गर्छन भनेका थिए । छोराछोरी ६ जना हुन्छन् सबैकुराबाट सन्तोषनै हुन्छ भनेका थिए त्यहि नै भइरहेको छ । अनि माइला छोरा झविन्द्रको बारेमा सोध्दा उसले जे आँट्यो त्यही पुग्दै जान्छ, धेरै पढ्छन् भनेका थिए । अहिले सम्ममा त्यहिनै भएकोछ । अब कान्छो छोराको बारेमा भन्दा दाजु सँगसँगै अघि बढ्छन्, ग्रह निकै राम्रो छ भनेका थिए । उसलाई पनि त्यस्तै भएको छ । छोरीहरुलाई पनि ठुली छोरी माईली छोरीको बरेमा ठिकै बताएका थिए तर कान्छी छोरीको बारेमा अलि असन्तोष बताएका थिए सबै पुग्दै आएकोछ ।

(च)    परीक्षत काकासँग पाल्पा आउँदाः म करिब १८।१९ बर्षको थिए । मुद्दाको सिलसिलामा परिक्षत काकासँग पाल्पा आएको थिए । अड्डाको काम भ्याएर फर्कने क्रममा डोकाको भारी बोकेर साँझमा अर्घा भन्ने ठाउँमा पुग्यौं । बास पाए घरमा नभए ओतमा आफूले लगेको खर्च पकाएर खाएर बास बस्नु पर्थ्यो । म अगाडि गएर बास खोज्छु तैले दाउरा खोजेर आइजा भनी परिक्षत काकाले भन्नुभयो र मैले बल्ल तल्ल भारीसँग पुग्ने गरी एक मुठा दाउरा खोजेर उनले भनेको ठाउँमा पुग्दा भेटिन। रात धेरै परी सकेको थियो । अनि त्यहाँ पुगेर एक जना मान्छेलाई यस्तो पोशाकका भारी बोकेका मान्छे देख्‍नु भएको थियौ कि भनी सोध्दा उनले त खर्जाङ्गतिर लागे भनेपछि म त झसँग भए रातीमा त्यता जान सम्भव थिएन । एउटा सानो भट्टी जस्तो थियो त्यहाँ बास मागें । शायद मैले किनेर खाना नखाने भएर होकी यहाँबास छैन तल एउटा पौवाजस्तो (लासआदि राख्‍ने ठाउँ) बताइदिए । अरु उपाय थिएन । गह्रौ भारी थियो । त्यही गएर रातभरी थुरथुर गर्दै भोकै त्यही बसें । निकै जाडो भयो र रात बिताउन निकै कठिन भयो । जुन मेरो लागि अविस्मरणीय भयो । अरु डर त मैले त्यस्तो मान्ने थिइन । अर्को दिन उनलाई खर्जाङ्ग जाँदा भेटे । त्यस्तो धोका दिएकाले बोल्ने पनि मन लागेन । सीधै घरतिरको बाटो लागें । जीन्दगीमा यस्ता खालका दुःख धेरै व्यहोरेर होला सामान्य दुःख त मेरा लागि दुःख जस्तै लाग्दैनथ्यो ।

(छ)    खानपिनः चाडपर्वहरुमा मात्र भात खाने अबसर मिल्दथ्यो अन्य बेलामा मकैको आटो, कोदाको वा फापरको ढिंडो, रोटी, पिठो मुख्य खाना खाइन्थ्यो । मासु बर्षको एक दुई पटक यस्तै अबसरमा खाने गर्दथ्यौं । घरमा मौसम अनुसारका सागपात तरकारी र गोरस (महि, दही, घ्यू र दूध) भने मनग्गे हुन्थ्यो, कहिल्यै टुट्दैनथ्यो । सँधै भात खान पनि नपाइने भन्ने लाग्दथ्यो त्यसवेला तर अहिले शहरमा बस्दा पो थाहा भयो त्यो बेलाको हाम्रो मुख्य खाना त धेरै पोषिलो तथा स्वस्थकर हुँदोरहेछ ।

(ज)    पहिलो पटक आँखा जँचाउँदाः म ८३ बर्षको हुन्जेल एक पटक पनि आँखा जँचाएको थिइन । राम्रो देख्दै आएकोले जँचाउन पनि आवश्यक ठानिन । लण्डन भएको बखत अलिकति धमिलो देखेजस्तो लागेर पहिलो पटक आँखा जँचाउन छोरासँग अस्पताल गएँ । जँचाउने क्रममा यस भन्दा अगाडि कहिले जँचाउनु भएको थियो, रिपोर्ट कागज केही छ भनी डाक्टरले सोधे । हामीले आँखा जँचाएको यो पहिलो पटक हो भन्यौं । आश्चर्य मान्दै डाक्टरले मजाक गरेको (ब्चभ थयग वयपष्लनरु) भनेंर प्रश्न गरें । हामीले यथार्थ कुरा भने पछि डाक्टर तीनछक परे ।

थाइल्याण्डको भ्रमण

२२ साउन २०६९ (०६ अगस्त २०१२) मा नातिनी उषासँग थाइल्याण्ड गयौं । त्यसबेला कान्छो छोरा डोरनाथ थाइल्याण्डका लागि कार्यवाहक राजदूत थियो । कान्छो छोरा बुहारी हवाईजहाससम्म नै लिन आएका थिए । सजिलोसँग उनीहरु बस्ने ठाउँ इकमाईको लेसथो मेन्सनको १७ औं तल्लामा गयौं । गाडी चालक सुवास गुरुङ्ग बाबु निकै सहयोगी रहेछन् । घरमा ठूलाबडा नेताहरु लगायत पाहुनाहरु आइरहने रहेछन् । हामीहरुलाई पनि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, माधव कुमार नेपाल लगायतसँग भेटघाट भयो । केपी ओली निकै फरासिला लाग्यो । विभिन्न रमाइला कुरा गरिरहने ।

न्यायाधीश कुलरत्न भुर्तेल थाइल्याण्ड उपचारको क्रममा गइ रहनु हुने रहेछ । उहाँ बोली रहने बिभिन्न पुराना कुरा सोध्ने रमाइलो हुनु हुँदो रहेछ । एक दिन उहाँले समुद्र हेर्न जाउँ भनेर थाइल्याण्डको पतायास्थित समुन्द्र किनारमा घुम्न गयौं । छोरा डोरनाथ, हामी दुई जना र कुलरत्न बाबु भएर गयौं । नदी समुद्र भेट्नसाथ मैले पानी अचाउने गर्थे । छाल कति खेर आउने कतिखेर जाने पानी भेट्नै कठिन हुन्थ्यो । कुलरत्न बाबुले हात समाएर पानीको नजिकसम्म लैजानु भयो । मैले आउ गंगा आउ भन्दै छालबाट कति खेर पानी आउला र छुम्ला भनेर पर्खिरहेको थिएँ । एक्कासी छाल आयो गल्र्याम गुर्लुम ढाली हाल्यो । कुलरत्न बाबुले मलाई अडाउन खोज्दै हुनुहुन्थ्यो सक्नु भएन । डोरनाथ अलि पर आमासँग थियो दौडेर आयो र मलाई पानीबाट उठाए । पुरै भिजेको हुनाले चिसो लाग्छ भनेर हत्त न पत्त गाडीमा राखेर घरतिर दौडाए । हामीसँग फेर्ने कपडा पनि थिएन ।

त्यहाँ बसाइको क्रममा जनावर भएका पार्कहरु, सफारीवल्र्ड लगायतका विभिन्न ठाउँमा घुमियो । राजदूतावासका सबै कर्मचारीहरुले औधी माया गर्नु भयो । त्यसमा पनि हरि थापा र सुभाव गुरुङ्गले धेरै ठाउँ घुमाउन लैजानु भयो । थाइल्याण्डमा बर्मेली नेपालीहरु प्रशस्त हुनुहुँदो रहेछ । हामीहरुलाई असाध्यै माया गर्ने । करिब दुई महिनाको बसाइँपछि १९ असोज २०६९ (०५ अक्टुबर २०१२) मा काठमाण्डौं फर्कियौं ।

ओमानको भ्रमण

२०७० सालमा माइलो छोरा झविन्द्रको ओमानका लागि कार्यवाहक राजदूतको रुपमा सरुवा भयो । पहिला त्यहाँ नेपालको राजदूतावास थिएन । त्यसैले उसले आफू नियोग प्रमुख भएर नयाँ राजदूतावासको स्थापना गर्ने जिम्मेवारी पनि पाएको थियो । त्यहाँ राजदूतावास खोलेर व्यबस्थित भैसकेपछि २४ मंसिर २०७० मा हामी २ जना पनि ओमन गयौं । ओमानमा समुद्र, मरुभूमी, पहाड, हरिया बगैचा तथा खेतिवारीहरु अत्यन्त रमाइलो लाग्यो । १७ बैशाख २०७१ मा हामी स्वदेश फक्र्यौ । झविन्द्रको करिव एक वर्ष पुग्दा नपुग्दै बढुवा भएर नेपाल फक्र्याे । मेरा छोराहरुलाई नेपाल सरकारको प्रतिनिधि भएर ओमानमा सेवा गर्ने केही साईतनै जुरेको हुनुपर्दछ पछि कान्छो छोरो डोरनाथ पनि ओमानकै लागि नेपालको राजदूत नियुक्त भएर गएको छ ।

भेन्टिलेटरमा उपचार पछि पुनर्जीवन

मेरो जीवनमा एकमात्र स्वास्थ्य समस्या दमबाट पीडित भइरहें । बेलाबखत आक्रमण भइरहे तापनि सन् २०१४ को मे महिनामा ८९ बर्षको हुँदा सिकिस्त बिरामी भएर अस्पतालको आईसियूमा ९ दिनसम्म भेन्टिलेटरमा बस्नु प¥यो । माइलो र कान्छो छोरा विदेशमा कार्यबाहक राजदूतको रुपमा कार्यरत थिए, विदेशबाट आए । ठूलो छोरा गाउँको घरबाट काठमाडौं आयो । डाक्टरहरुले नै भेण्टिलेटरबाट निकालेपछि उहाँको अबस्था के हुन्छ भन्न सकिदैन भनेछन् । त्यसपछि छोराहरुले के सल्लाह गरेछन् भने बुबालाई अक्सिजन लगायतका सबै सुविधासहित घरमै लैजाउँ र सबै परिवारको साथमा राखेर सेवा गरौं । अस्पतालबाट आउँदा म निकै अशक्त र कमजोर थिएँ तर बिस्तारै दम कम हुँदै गयो र खाना रूची हुन थाल्यो २।३ महिनामा म पुनर्जीवन पाएसरह भएर तङ्ग्रीएँ ।

दोश्रो पटकको डेनमार्क भ्रमण

माइलो छोरा झविन्द्र इजिप्टमा राजदूत हुनाले हामी इजिप्टमा नै बसेका

थियौं । जुलाई ३, २०१७ मा माइली बुहारी दुर्गासँग कान्छो छोरा डोरनाथ र बुहारी स्वदेश भएको ठाउँ डेनमार्कमा फेरी १० बर्ष पछि दोश्रो पटक गयौं । ठाउँ निकै सफा सुग्घर राम्रो । उमेरको कारणले पनि पहिले जस्तै एक्लै घरबाट निस्केर हिड्न सक्ने अबस्था थिएन । छोरा बुहारीले गाडीबाट ठाउँ ठाउँमा घुमाए । जुलाइमा डेनमार्कमा दिन निकै लामा हुने रहेछन्, पर्दा नलगाए रातै नपरे जस्तो हुने । जताततै हरियाली, धेरै बगैचाहरु भएको ठाउँ थियो । हाम्रो बसाई तेश्रो तलामा थियो । हामी आफै निस्केर बाहिर घुम्न जान सक्ने तागत र आँट थिएन । विदेशी भूमिमा बिरामी भइएला कि भन्ने मनमा डर पनि थियो । छोरा राजदूतावासमा काम गर्ने र नातिनी लिसा र नाति नोबेल स्कुल जान्थे । हामी दिउँसो बुहारीसँग हुन्थ्यौं । बुहारी स्वदेशले के खाने कुरा मनपर्छ भन्दै निकै स्याहार सुसार गर्थिन ।

करिब डेड महिना बसेपछि हामीहरु माइलो छोरा बुहारी भएको ठाउँमा छोरा डोरनाथको साथ २०१७ अगस्त २१ तारिखमा इजिप्ट फर्कियौं । सबै कुरा सपना जस्तो लाग्छ ।

म इजिप्टमा विरामी परेको

हुनत म दमको बिरामी हुनाले यस अघि नै भनेजस्तै धेरै पटक गम्भीर बिरामी हुने, आईसियुमा बस्ने र उपचारपछि घर फर्कने क्रम चलिरहन्थ्यो । एक पटक इजिप्टमा पनि दम बढ्ने, बेहोस हुने, खाना नरुच्ने भएर म सिकिस्त भएको हुँदा झविन्द्रले अस्पताल लग्यो र त्यहाँ तुरुन्तै आईसियुमा राखेछन् । त्यसवेला मैले धेरै कुरा सम्झन पनि सकिन । केही दिनसम्म अस्पतालका चिकित्सक र नर्सहरुले घरमै आएर मेरो सेवा गरे। त्यहाँबाट पनि स्वास्थ्यलाभ गरी सकुसल नेपाल फर्किएँ ।

इजिप्टको पछिल्लो विदेश भ्रमण

माइलो छोरा झविन्द्रलाई नेपाल सरकारले अरव गणतन्त्र इजिप्टको लागि नेपालको राजदूतमा नियुक्त गरेकोले छोरा बुहारी भएर आफ्नो कार्यभार सम्हाल्न २०७३ मंसिर १५ मा काठमाडौबाट कायरोतर्फ प्रस्थान गरे । उसको जिम्मेवारी आफू खटिएको मुलुक इजिप्टमात्रै होला भन्ने मलाई लागेको थियो तर पछि थाहा भयो उसले त त्यहाँबाट त्यसक्षेत्रका १८ मुलुकको राजदूत भएर काम गर्नु पर्ने रहेछ । यो थाहा पाउँदा अत्यन्त गौरव लाग्यो साथै, आफ्नो जिम्मेवारीको व्यस्तता र तनाव पनि त होला भन्ने मनमा लाग्दथ्यो । हामी कान्छा छोरा डोरनाथसँग काठमाडौंमा बसिरहेका थियौं । कान्छाको पनि बिदेश कतै सरुवा हुने बेला भएको थियो । पछि उसको नेपाली राजदूतावास डेनमार्कमा सरुवा भयो । नयाँ ठाउँमा सरुवा भई जाँदा आफ्नो बस्ने घर, आवश्यक अन्य सरसामान सहितको व्यबस्थापन, बालबच्चाको पढाइको चाँजोपाँजो मिलाउन केही समय लाग्ने  स्वभाविक रहेछ । दुई भाइले आपसमा सल्लाह गरेछन् र डोरनाथ परिवारकासाथ डेनमार्क जाँदा हामी सहित कायरो जाने र हामी माइला छोरासँग बस्ने कान्छो आफ्नो जिम्मेवारी सह्माल्न त्यतैबाट डेनमार्क जाने सल्लाह भएको कुरा हामीलाई सुनाए । सोही अनुसार २० बैशाख २०७४ (३ मे २०१७) मा कान्छा छोराका परिवारसाथ हामी कायरो पुग्यौं । हवाईजहाजको ढोकाबाट निस्कनासाथ छोरा बुहारी हामीलाई स्वागत गरी घर लैजान आइपुगेका रहेछन् । दुबै छोराहरुका परिवारसँग नयाँ ठाउँमा भेट मिलन हुँदा खुशीको सिमानै थिएन । कायरो आएको ४।५ महिना भइसकेकाले सबै बसोबासको व्यबस्थापन राम्रोसँग गरिसकेका रहेछन् । ठूलो कम्पाउण्डमा निजी पौडिपोखरी सहितको सुसज्जित घर, सरकारी सुविधामा २ जना घरको काममा सघाउने मानिसहरु, घर तथा अफिसको गेटमा २४ सै घण्टा सुरक्षा प्रहरी बसेको देख्दा राज्यको प्रतिनिधि राजदूतको लागि मानसम्मान, सुरक्षा र सुबिधा अन्य तल्ला पदहरुमा भन्दा विशेषखालको हुनेरहेछ भन्ने लाग्यो । त्यहाँको हावा पानी नेपालको भन्दा गर्मी र आकासबाट पानी वर्षमा ३।४ पटक भन्दा बढि नपर्ने रहेछ । मलाई लामो समयदेखि दमको रोग हुँदा सामन्यतया जाडो भन्दा यस्तै सुख्खा र गर्मी मौसम मेरो स्वास्थ्यको लागि अत्यन्त अनुकूल र सहज लाग्यो । रमाइलोसँग करिव ३ वर्षसम्म इजिप्टमा बसियो । यस बीचमा केही समय हामी कान्छो छोराकोमा डेनमार्क पनि गयौं । डोरनाथको सह सचिवमा बढुवा भएर काठमाडौं फर्केपछि हामीलाई पनि नेपाल फर्कन मन लाग्यो । झविन्द्रको अझै एकवर्ष कार्यकाल बाँकि थियो । ठूलो छोरा नित्यानन्द र बुहारी पनि घुम्न इजिप्ट आएका थिए । करिव एक डेढमहिना बसे । अब हामी नेपाल फर्कन्छौं भनेपछि झविन्द्रले पनि बिदा मिलायो । ठूला छोराका २ जना, म मेरो श्रीमती र झविन्द्र गरी ५ जना २६ आश्र्विन २०७६ (१३ अक्टोवर २०१९) मा काठमाडौं फक्र्यौं ।

इजिप्टबाट नेपाल फर्कने दिन श्रीमती प्लेनमै बेहोस

२५ आश्र्विन २०७६ (१२ अक्टोवर २०१९) मा हामी इजिप्टको कायरोबाट काठमाडौं फर्कंदै थियौं । संयुक्त अरव इमिरेट्सको दुवईमा ३ घण्टाजतिको ट्रान्जिट थियो । हामी दुवैजनाले प्लेनमा दिएको खानेकुरा नखाने हुनाले माईली बुहारी दुर्गाले बाटोलाई पुग्नेगरी खाना तातै रहने हटकेशमा ढकने बनाएर पठाइदिएकी थिइन् । इमिरेट्स एअरलाईन्सको प्लेन निर्धारित समयमै दुबई आयो । हामीले आफ्नो खानेकुरा खायौं र अब छिटै अर्को फ्लाई दुवईको विमानबाट काठमाडौं उड्ने प्रतीक्षामा थियौं । किन ढिला ग¥यो भन्ने लागेको थियो नभन्दै छोराहरुले खवर गरे जहाज निर्धारित समयमा नउड्ने भएछ । कारण त्यही दिन मित्रराष्ट्र चीनका राष्ट्रपति सि चेनफेङ्गको २ दिने नेपालको राजकीय भ्रमण परेछ र सुरक्षाका कारणले काठमाडौं विमानस्थलबाट हुने धेरै वायुसेवाहरुका उडान अवतरण तालिकामा उथलपुथल हुनाले अनिश्चितकालका लागि उडानमा बिलम्व हुने सूचना आयो । अब रातभर एअरपोर्टभित्रको एसीको चिसो त्यसमाथि स्टिलका चिसा कुर्सीमा रात कसरी बिताउने भन्ने अत्यास लाग्यो । तर छोराहरुले के कसरी हो त्यहीं भित्रकै ट्रान्जिट होटलमा सुत्ने बन्दोबस्त मिलाएछन् । दुईभाइ छोराहरु र म एउटा भवनको पुरुषहरु मात्र हुने हलमा र मेरो श्रीमती र ठूली बुहारी अर्कै भवनको महिलाहरु मात्र जान मिल्ने ठाउँमा राति १२ बजेतिर लगे । म त छोराहरु नजिकै हुनाले आरामसँग सुतें । तर मेरो श्रीमती र ठूली बुहारी धेरै नै अत्तालिएछन् । भाषा नबुझिने हुँदा पानीसम्म पनि मागेर खाने अबस्था भएनछ । छोराहरु पनि सासु–बुहारी अतासीय होलान् भनी चिन्तित भए । ५।६ घण्टापछि उज्यालो भयो । आमा त रातभर हामीलाई छोडेर कहाँ गएको तिमिहरु भन्नुभयो भनेर छोराहरुले मलाई सुनाए । कान कम सुन्ने, भाषा नबुझिने र राम्रोसँग यस्तो ठाउँमा बस्ने सुत्ने भन्ने हामीबीच सरसल्लाह पनि हुन नपाई हारहुर त्यहाँका कर्मचारीहरुले लैजाँदा मेरो श्रीमती निकै अत्तालिएर सुत्न पनि सकिनछन् । करिव २० घण्टाको पट्यारलाग्दो पर्खाई पछि अर्को दिन काठमाडौंमा अवतरण अनुमति पाएकोले त्यहाँको २ बजे प्लेन उड्ने भयो भन्ने जानकारी दियो र तोकेकै स्थानीय समयमा जहाज काठमाडौंको लागि उड्यो । करिव ५ घण्टाको उडान पश्चात विमान काठमाडौंको आकाशमा आइपुग्यो । छोराहरुले हामीलाई भने अब १० मिनेट जतिमा पुगिन्छ । भोक थकाई आदिले दिक्क भएकोले कतिबेला घर पुगेर आराम गर्न पाइएला भन्ने भइरहेको थियो । तर विडम्वना हिजोदेखिको एअरट्राफिकको असर अझै बाँकी रहेछ जहाजले अवतरणको पालो अझै नपाएर आकाशमै ९ पटक फन्कोमारी भारतको लखनउँ जादै छौं भन्ने घोषणा गरे । फेरी सबैजना निराश भइयो, जहाज दक्षिण दिशातिर मोडियो । लखनउँ विमानस्थलमा अवतरण गर्न १०।१५ मिनट बाँकी हुँदा माइलो छोरा र मेरो बीचमा बसेकी मेरी श्रीमती एक्कासी पूर्णरुपले बेहोस भएर लडिन् । हामी सबैको सातो उड्यो । मद्दतको लागि जहाजका कर्मचारीहरुलाई बोलाइयो । भाग्य संयोग त्यस जहाजमा २ जना यात्री मेडिकल डाक्टर रहेछन् । तुरुन्तै आएर जाँच्न थाले । जहाज पनि अवतरण ग¥यो । बिरामीलाई ३ जना बस्ने सिटमा सुताएर खुट्टाको मसाज, नाडि, श्वासप्रस्वास जाँच गरेपछि ठीक छ आत्तिनु पर्दैन, कहिलेकाँही यस उमेरमा थकाई, भोक, प्यास र लामो यात्रामा यो सामान्य हो एकछिनमा होस आउँछ भनेपछि हामी सबैले सन्तोषको सास फे¥यौं । नभन्दै १०।१२ मिनेटपछि आँखा खुले र हात खुट्टा चलाउँदै उठिन् । यसरी होस् खुल्ने बित्तिकै पानी खान दिनु हुँदो रहेनछ । कोही पनि यसरी बेहोस भएमा तुरुन्त उत्तानो सुताएर खुट्टातिर सानो सिरानी राखी पैतालाको मसाज गरिहाल्नु पर्दोरहेछ । यसो गर्दा मुटुले पठाएको रगत पैतालामा पुगेर मस्तिष्कमा पुग्ने कुरा डाक्टरहरुले बताए । १५ मिनेटपछि जुस तथा पानी खान दिए । भाग्यकै कुरा हो, त्यही जहाजमा २ जना डाक्टर हुनु । झण्डै २ घण्टाजति हामी जहाजभित्रै बस्यौं र अब हामी काठमाडौंतिर प्रस्थान गर्दै छौं सिटको पेटी बाध्नुहोला भन्दै जहाज हवाई मैदानमा गुड्न थाल्यो । करिव बिहानको १ बजेतिर एक दिनको यात्रा तीन दिन लगाएर हामी सकुसल काठमाडौं उत्रियौं । २०५० सालदेखि २०७६ सालसम्म छोराहरुको साथमा आलोपालो धेरै मुलुकहरुमा सहजरुपमा यात्रा भएको थियो तर यसपाला अलिक झन्झट र हण्डर बेहोर्नु प¥यो ।

मेरा अन्तिम ईच्छाहरु

इजिप्टको कायरोस्थित राजदूतको निवास रहेको ठूलो कम्पाउण्डमा दुवो रोपेको हरियो सफा चौर त्यसकै छेउँमा निजी पौडि पोखरी थियो । बिहान उठेर नित्यकर्मपश्चात यही चौर नजिकको घरको दलानमा बसेर फलफूल, नास्ता, चिया कफि खाँदै गफिने गर्दथ्यौं । एक बिहान छोरा झविन्द्रले बुबा आमाका, हामीले थाहा नपाएका हजुरहरुले नभनेका, केही इच्छाहरु छन् कि भनेर सोध्यो । उनको आमाले भनिन् सबै हामीलाई चाहिने सेवा सुविधा पु¥याएकै छौ, अब केही पनि त्यस्तो चाहना इच्छा छैन । मैले भनें मेरा मनका ३ वटा इच्छाहरु छन् तर पुग्ने नपुग्ने सबै ईश्वरको हातमा छ तिमीहरुको बसमा छैन भनें । त्यसपछि उसले थप उत्सुकताकासाथ सोध्यो के के हुन् त ती ३ इच्छाहरु ? यदि मैले चाहेका बिषयहरु भगवानले सुन्नु भयो भने ती हुन्, पहिलो– तिमीहरुसँग देश विदेश धेरै घुमियो, देखियो, बसियो अब वृद्ध पनि भइयो – त्यसैले यो देह त्याग गर्नेबेला नेपालमै हुन पाइयोस्, दोश्रो – मैले अन्तिम सास कुनै अस्पताल वा अन्य स्थानमा नभएर आफ्नै घरमा फेर्न पाइयोस् र तेश्रो – मैले देह त्याग गर्ने बेलामा मेरा छोराछोरीहरु र मनग्गे शुभचिन्तकहरुका माझ रहेर जान पाइयोस् भन्ने छ बाबु, इश्र्वरको जो कृपा भने । छोराले एकछिन गम्भीर भएर भगवानले गर्ने काममा हामीले चिन्ता गर्नु हुदैन बुबा भन्दै हामीले गर्नसक्ने केही छ कि भन्यो । सबै चाहेका इच्छाहरु पूरा गरिसकेकोले केही छैन भनें ।

मेरा सन्ततिहरुलाई सन्देश

अन्तमा, पहिले मानिसहरुले शिलाहरुमा कोरी आफ्नो कृति छोड्थे अरे आज त्यति गाह्रो छैन बसी बसी मुखबाट छोडिदिए कापी भरिने रहेछ । आफ्नो छोरा नाति तथा भावि सन्ततिले पनि देखुन् र मेरो बारेमा पुराना कुराहरु केही जानुन् भनी यो छोटो जीवनी तयार गर्न लगाएको हुँ । छोराले भन्छ कम्प्युटरबाट चाहेका मान्छेले पढ्न सक्छन रे । मेरो लुकाउनु छिपाउनु केही थिएन । जे मैले गरें भोगें त्यही भनेको हुँ । मेरो कान्छो छोरा डोरनाथले मेरा मुखले भनेका कुरा लिपिबद्ध गरेको हो । मेरा सन्ततीहरुले अरुको भलोका लागि राम्रा कामहरु गर्दै जानु सँधै आफ्नो पनि राम्रो हुन्छ, यही मेरा आग्रह छ । पुराना कुरा नबिर्सनु, मेरा भोगेका कुराहरु सम्झेर विगतलाई मनन गरेर निर्णयहरु लिने गर्नु मेरो यही सुझाब छ । शुभकामना छ ।

धन्यवाद, लोकनाथ अर्याल

दोस्रो भाग

स्मृतिका पानाहरु

बुबाप्रति भावपूर्ण श्रद्धाञ्जली

परम् पूजनीय बुबा लोकनाथ अर्याल २०७९ साल श्रावण १४ गते शनिवारका दिन रवीभवन, काठमाडौंमा ९८ वर्षको उमेरमा यस लोकमा आफ्नो नश्र्वर शरीर छोडी ब्रह्मलिन हुनुभयो । उहाँ बिक्रम संवत १९८२ साल आषाढ ३२ गते बुधवारका दिन गुल्मी जिल्लाको सिर्सेनी (हाल मदाने –३) मा जन्मनु भएको थियो । उहाँको स्वर्गारोहणले हामीले हाम्रो परिवारको अभिभावक मात्र गुमाएनौं सिङ्गो अर्याल परिवारले नै एक वरिष्ठ सदस्य गुमाउनु प¥यो । हाम्रो घरको जेष्ठ अभिभावक नरहँदा चहकिलो बत्ति निभेर निष्पट्ट अन्धकार छाएको अनूभूति भयो । बुबाको बिछोडबाट ९४ हिउँद काटेकी आमालाई ७५ वर्षभन्दा लामो दाम्पत्य जीवनमा आएको बिछोड र यसबाट परेको असह्य पीडाबोध, शोक एवं भावविह्वलताको यथार्थ चित्रण यहाँ मेरा कलमका २।४ शब्दले कदापी छेउ टुप्पो पनि समेट्न नसक्ने कुरा स्वीकार्छु ।

करिव शताब्दी नजिकको उमेरमा पनि उहाँ पूर्ण सचेत रहेर आफ्नो नियमित दिनचर्या अरु कसैको सहारा बिना आफैले सहज रुपमा गर्दा गर्दै शान्तिपूर्वक महाप्रस्थान गर्नुभयो । बुबाको शान्तिपूर्ण वैकुण्ठबासको कामना गर्दै हार्दिक एवं भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु सिवाय हामीसँग अरु केही विकल्प रहेन ।

स्वर्गवासी बुबाको अत्यन्त सरल, सात्विक एवं सादगी र सदा निश्चिन्त वा तनावमुक्त रहनसक्ने स्वभाव, गाह्रो साँघुरो परेकालाई आफ्नो आवश्यकतालाई चाहिने समेत नराखी दिएर सहयोग गर्ने बानी, सदाचार, उच्च विचार, हामी छोराछोरी तथा समस्त परिवारका सदस्यहरुलाई सँधै मनन योग्य दिशा निर्देश, लालन पालन, यथोचित शिक्षा दिक्षा र गहिरो स्नेह सदा सर्वदा प्रेरणाका श्रोत रहे र रहिरहने छन् । सम्पूर्ण जीवनकालमा रिस, राग, द्वेष, लोभ, कलह, मोह, आक्रोश, बैरभाव, इश्र्या जस्ता कुनै कुराले कहिल्यै कत्ति पनि प्रभाव नपार्नु बुबाका अतुलनीय एवं अविष्मरणीय गुणहरु थिए ।

विगत १९।२० वर्षदेखि बुबालाई एक प्रकारको दम (ब्कतजबmब) को बिमार थियो । उहाँलाई दम बाहेक अन्य केही पनि रोग, व्याधि थिएन । विगतका कुनै कुनै समयमा दमको आक्रमण नभएको होइन तर विशेषज्ञ चिकित्सकहरुको सल्लाह बमोजिमको नियमित सेवन गर्ने औषधिले राम्रो काम गरेको थियो । तर पछिल्लो समय पनि दमको चाँप थप बढ्नुमा फोक्सोको काम गर्ने क्षमता कम भएकोले शरीरमा कार्वनडाईअक्साईडको मात्रा बढेको भन्ने निजामती कर्मचारी अस्पतालका चिकित्सकहरुले रगतको ए.बी.जी. परीक्षण गर्दा देखिएको बताउनु भयो । अस्पतालको आकस्मिक कक्षमा बुबासँग नित्यानन्द दाजु र म थियौं र अब यसपछिको उपचार के हुन्छ भनेर सोध्यौं । उहाँहरुले अहिले नयाँ प्रविधिबाट शरीरको कार्वन हटाउन सकिन्छ, उपचार हुन्छ तर आइ.सि.यू. भएको ठाउँमा मात्र त्यो मेसिन उपलब्ध हुन्छ भन्नुभयो । हामीले सोही अस्पतालको आइ.सि.यू. मा भर्ना गरिदिन अनुरोध ग¥यौं तर त्यसदिन त्यहाँ कुनै पनि बेड खाली रहेनछ । कहाँ भर्ना गर्दा बुबाको उपचार हुन्छ भनी सोद्धा जहाँ आइ.सि.यू.मा बेड पाइन्छ ती सबै ठाउँमा यो सेवा उपलव्ध हुन्छ भनी आइ.सि.यू.सेवा प्रदान गर्ने अस्पतालहरु र सम्पर्क नम्बरहरु दिनु भयो । त्यसपछि कहाँ स्थान पाइन्छ भनेर मैले एकै छिनमा ७।८ वटा अस्पतालहरुमा फोन गर्दा कोटेश्वरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय अस्पतालमा सो सेवा उपलब्ध रहेको र त्यहींबाट आवस्यक अक्सिजन लगायतका सुविधा सहितको एम्वुलेन्स १० मिनटभित्रै निजामती कर्मचारी अस्पतालको आकस्मिक कक्ष नजिक आइपुग्यो । त्यहाँ दिनभर आकस्मिक कक्षमा गरिएका बुबाका परीक्षणका प्रतिवेदनहरु र चिकित्सकहरुको थप उपचार सम्बन्धी सल्लाह सहितको डिस्चार्ज फाईल सहित हामी दुईभाइले बुबालाई त्यहाँ भर्ना ग¥यौं र उपचार शुरु भयो । आइ.सि.यू.मा त्यस मेसिनको प्रयोगबाट पहिलो एक दिन केही सुधार भएको थियो । हामी सुधार हुन्छ भन्नेमा आशावादी भयौं । तर दोस्रो दिन भने खासै सुधार हुन सकेन । चिकित्सकहरुसँग परामर्श गर्दा उहाँहरुले बुबाको उमेर अबस्था र फोक्सोको क्षमतालाई बिचार गर्दा मेसिनको वल यसभन्दा माथि बढाउन मिल्दैन, कार्वन हटाउन गर्ने उपचार यतिनै हो भन्नुभयो । हामी अझै निरास भयौं । आइ.सि.यू.मा भर्ना भएर त्यो मेसिन लगाएपछि बुबासँग हाम्रो दोहोरो कुराकानी हुन पाएन । पहिलो दिन हात र टाउकोको इशाराले केही सामान्य सांकेतिक सञ्चार भएको थियो तर दोस्रो दिनबाट बोली वा संकेत दुवै थिएन । अब बुबाको स्वास्थ्य गम्भीर मोडमा जाँदैछ भन्ने हामीले बुझ्यौं र चिकित्सकहरुसँग परामर्श गरी के अब बुबालाई घर लैजान सक्छौं भनी सोध्यौं । अक्सिजनको नियमित ब्यवस्था मिलाएर लैजान सक्नुहुन्छ भन्नुभयो । घरमा आमाले स्वास्थ्य लाभगरी बुबा कतिबेला आउँनुहुन्छ भन्ने प्रतीक्षामा हुनुहुन्थ्यो । अक्सिजनको आवश्यकता बेला बेलामा पर्ने हुँदा घरमा छँदै थियो । थप अक्सिजनको ब्यवस्था ग¥यौं र अस्पतालबाट डिस्चार्ज गराई अक्सिजनसहित एम्बुलेन्समा घरमा ल्यायौं । त्यो दिन बुबाको अन्तिम दिन रहेछ । घरमा आमा, हामी छोराछोरीहरु, नातिनातिना लगायत अन्य आफन्तजन र इष्टमित्रहरु जम्मा भएका थियौं । भाइ डोरनाथ भने ओमानका लागि नेपालको राजदूत नियुक्त भएर आफ्नो कार्यभार सम्हाल्न बुबा आमाको आशीर्वाद लिएर सपरिवार मस्कट गएको १० दिन मात्र भएको थियो । बुबाको स्वास्थ्य अबस्थाको उसलाई जानकारी गराइरहेका थियौं । छिटो आउने फ्लाईट पाएमा तुरुन्त आउनको लागि खवर ग¥यौं । भाइ र बुहारी त्यही दिनको फ्लाईटमा नेपालको लागि उड्ने भए तर डाइरेक्ट आउने त्यसदिन फ्लाईट नहुनाले भोली अपरान्ह पुग्नेगरी हिँड्ने भए ।

बिहान १० बजेतिर बुबालाई अस्पतालबाट घरमा ल्याएका थियौं । अपरान्ह २ बजेसम्म बुबाको स्वासप्रस्वासको गति अक्सिजन लगाए पनि स्वाभाविक थियो । समय समयमा अक्सिमिटरले अक्सिजनको अबस्था पनि जाँच गरिरहेका थियौं । तर त्यसपछि बुबाको श्वासप्रस्वासको गति अली अनियमित एवं अस्वाभाविक देखिन थाल्यो । खुट्टा चलाइरहनु हुन्थ्यो तर त्यसपछि स्थिर र शिथिल छोडिदिनुभयो । बुबा केही सकसपूर्ण र असहजस्थितिबाट गुज्रदैहुनुहुन्छ भन्ने हामी वरिपरि बसेका सबैलाई लाग्न थाल्यो । बिभिन्न तिर्थस्थानहरुबाट ल्याएको जल थोरै थोरै पालोपालो गरी सबैले दियौं । अक्सिजन घट्योकि भनेर फेरी अक्सिमिटर लगाएँ । अचम्म लाग्यो, बुबाको अक्सिजन त एक स्वस्थ र जवान मानिसमा हुनेभन्दा पनि राम्रो ९९ पुगेको थियो । त्यति त बुबा स्वस्थ अबस्थामा रहँदा पनि हँुदैनथ्यो । मेसिन बिग्रेको होकि के भयो ? मैले आश्चर्य मान्दै सबैलाई भने । बिगतको अनुभव भएका केहीले भन्नुभयो कि प्राणवायुले देह छोड्नुपूर्व शरीरमा पूर्णमात्रामा प्राणवायु भरिन्छ र शरीरको कुनै एक स्थानबाट सदाको लागि निस्कन्छ । सत्यता के हो थाहा छैन । बुबाको शरीर खुट्टातिरबाट शिथिल हुँदै आएको थियो । मुख चलाईरहनु भएको थियो । एकै छिनमा मुख बिस्तारै बन्द भयो । मुखबाट सम्पूर्ण प्राणवायु बाहिरिएको अनुमान लगाइयो । अपरान्हको ४ः२५ बजेको थियो । एकै छिनमा सम्पूर्ण शरीरको तातोपन हराएर शीतल हुँदै गयो, त्यो दिव्य शरीर क्षणभरमा निस्प्राण भयो । हामी सबैको मन मुटु भक्कानिएर आयो, रुवाबासी भयो । दैवको लिला वा नियम अपरम्पार रहेछ । ९८ वर्षसम्म यसै देहमा बसेको त्यो प्राण वा आत्म क्षणभरमा निस्केर कहाँ गयो ? आत्म छ कि छैन? छ भने कहाँ कसरी बस्दछ? नयाँ चोला फेर्ने भए के हुन्छ ? दैवको ज्ञानको अगाडि मानव विज्ञानको केही जोर नचल्ने रहेछ भन्ने लाग्यो ।

एकै छिनमा सबैतिरबाट दाजुभाइ, नाता कुटुम्ब, छरछिमेक र इष्टमित्रहरुको ठूलै उपस्थिति भयो । भिनाजु टीकाराम मरासिनीले बुबाको आत्मको शान्तिपूर्वक वैकुण्ठबासको कामना गर्दै वैदिक मन्त्रोच्चारण गरिरहनु भएको थियो । अब अन्तिम संस्कारको लागि बुबाको पार्थिव शरीर पशुपति आर्यघाटमा धेरै ढिला नगरी लैजाने कुरा भयो । यस दुखद खवरको जानकारी भाइ डोरनाथलाई ओमानमा गराइयो । उनीहरु हिड्न तयार थिए तर बुबालाई भेट्न नपाउने भए । भोलिसम्म अन्तिम संस्कार रोक्ने कि के गर्ने भन्ने सल्लाह हुँदा डोरनाथले नरोकौं म भोलि आएर सामेल हुन्छु भन्यो र विगतको हाम्रा दाजुभाइ बन्धुहरुको चलन व्यवहारमा पनि कुरेर राख्न उचित नहुने सल्लाह यस बखत जम्मा भएका पाका अनुभविहरुको रहेकोले पार्थिव शरीरको अन्तिम संस्कार सोहि दिन गर्ने निधो भयो । हामी बसेकै हाउजिङ्गमा बस्ने मित्र सुमन वज्राचार्यले काठमाडौं महानगरपालिकाको शव वाहन सवारी साधन बोलाउनु भयो । एकै छिनमा पशुपतिनाथको आर्यघाटमा पुगियो । त्यहाँ दाजुभाइ, बन्धुबान्धव, नाताकुटुम्ब, इष्टमित्र र साथीभाइहरुको ठूलो जनसमूह बुबालाई अन्तिम श्रद्धाञ्जली तथा अन्य परिवारजनमा समबेदना प्रकट गरिरहेको थियो । पशुपतिनाथ मन्दिरको पूर्वतर्फको गेटको सिधा तल वागमती नदिको ब्रह्मनालमा शवदहन पूर्व गरिने आवश्यक प्रक्रिया वा कर्म पूरा गरी त्यहीँ नजिकैको शवदहनस्थलमा निर्मित काठको थुप्रोको चितामा बुबाको मृतदेहमा बिभिन्न सुगन्धित एवं पवित्र बस्तुहरु धुप, रक्तचन्दन, फूल मालाहरु चढाई वैदिक मन्त्रोच्चारण भैरहेको थियो । म र नित्यानन्द दाजु कपाल मुण्डन गरी नुहाएर एकसरो सेतो बस्त्र फेरी बुबाको चितामा चढेको मृतदेहको परिक्रमा ग¥यौं । यसबेला बेलुकाको करिव ७ वज्न लागेको जस्तो लाग्दछ, हामीले बुबालाई दागबत्ति दिन थाल्यौं । ठीक त्यही समयमा हजारौंको संख्यामा पशुपतिनाथमा नियमितहुने आरति कार्यक्रममा पूजारीहरुको शंखनाद सहित उपस्थित श्रद्धालु भक्तजनहरुको भजन र आरतिगान शुरु भयो । यस्तो प्रतीत हुन्थ्यो कि बुबाको अन्तिम संस्कारकै लागि यो सम्पूर्ण जनसमुदाय उपस्थित छ र सबै पाशुपतक्षेत्र नै देव स्तुतिको भजन कृतनयुक्त स्वरले गुन्जयमान भैरहेको छ । केही समयपछि बुबाको संपूर्ण शरीर प्रखर अग्निको दहनबाट खरानीमा परिणत भयो । आरति पश्चात जनसमूह फर्किन थाल्यो । वातावरण स्तब्ध र शून्य महसुस भयो । त्यसपछि बुबाको पुण्यात्मा कहाँ गयो होला, कसरी बसेको होला भन्ने कौतुहलको बाढि मेरो मन मष्तिस्कमा गड्गडाइ रह्यो । बुबाको पूण्यात्मको सदा स्वर्गमा बास होस्, हामी सबैले हजुरलाई हार्दिक हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।

झविन्द्र अर्याल तथा सम्पूर्ण अर्याल परिवार ।

निर्मल मन र दैबी गुण भएका लोकनाथः एक स्मरण

– टङ्क प्रसाद पन्थी

गुल्मी जिल्ला र्सिसेनी (हाल मदाने ३) लाम्पाटाको मध्यम वर्गीय कृषकको परिवारमा जन्म भएका लोकनाथ अर्यालसँग उहाँका छोरा अर्थात मेरो कलेज जीवनका आत्मीय साथी डोरनाथ अर्यालसँगको सामिप्यताको कारणले भेट्ने अवसर मिलेको थियो । पहिलो भेटमै उहाँको बोली व्यवहार र सरलताले मलाई उहाँप्रति श्रद्धा र आत्मियताको भाव जागेको थियो । उहाँको निर्मल मन, दृढ आत्मशक्ति, परकल्याणकारी भावना र करुणाभावले भरिएको हृदय, सबै प्रतिको प्रेमभाव, अर्ति, उपदेश, आर्शिवचन र साहस दिएर प्रसन्न मनले बिदा गर्ने बानी, घरबाट खाली मुख जान नदिने स्वभावले मलाई उहाँसँग नजिकिन र उहाँलाई बुझ्न उत्प्रेरित ग¥यो । वास्तबमा उहाँ आफू शिक्षित नभएर पनि जीवन र जगतलाई आत्मसात गरेका देव गुण लिएर यस धर्तिमा जन्मिएका पुण्यात्माका मानव स्वरुप हुनुहँुदोरहेछ । यस्ता पूज्य आत्मा धारण गरेको भौतिक शरीर ९८ वर्ष भर्खर प्रवेश गरेको अबस्थामा २०७९ साल श्रावण १४ गते चीर निद्रामा पुगी लोकनाथ अर्याल सँधैका लागि हामीबाट बिदा भई अज्ञात यात्रामा परमधामतर्फ जानुभयो । यस्ता व्यक्तिको मन, बचन, बानी व्यवहारले उहाँको बिषयमा मैले देखेका, सुनेका, र अनुभूत गरेका केही तथ्यहरु प्रासाङ्गिक ठानी यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु ।

स्व. लोकनाथ बुबाले भेट्न आउनेबाट केही न केही उन्नति प्रगति र सुखद समाचारको बारेमा जान्ने जिज्ञासा राख्नु हुन्थ्यो । अझ आफू जन्मेको ठाउँ गाउँका मानिस आउँदा बडो स्नेहले सबैको नाली बेली सुनेर त्यसैमा रमाउने गर्नुहुन्थ्यो । फुर्सद पाउँदा उहाँबाट जीवनमा भोगेका कुराहरु सुन्ने अबसर मिल्दथ्यो । उहाँबाट सुनेका जीवनका गाथाहरुमध्ये पर कल्याणका कुरा र कसैप्रति पनि शत्रुत्व नराख्ने स्वभावको सन्दर्भका केही दृष्टान्तहरु यहाँ राख्दैछु । लेकबाट भैंसीको पाडी किनेर ल्याउँदा बाटोमा रात परेर जंगलको गोठमा बास बस्न परेको रहेछ । लुगा केही नहुनाले एक छिन आगो तापेर सुत्ने प्रयास गर्दा सँगैको साथीलाई चिसोले धेरै गाह्रो भएछ । त्यसपछि लोकनाथ बुबाले आफनो दौरा लुगा खोलेर साथीलाई ओडाइदिएर आफुले आगोको तातो खरानी खोर्सेर रात बिताउनु भएछ । गाउँका एकजनाको घरमा आकस्मिक रुपमा आगो लागेछ । घरमा आगो लगाई दिएको भनी उहाँको निर्दोष परिवारलाई आरोप लगाएर मुद्दा हाली पाल्पा अदालतबाट एक पक्षीय रुपमा फैसला गराई घर, जग्गा, चल अचल सम्पत्ति अन्न पात, वस्तु भाउ भाँडा कुँडा तायदात (सम्पूर्ण सम्पत्ति हरण) गरी उहाँको परिवारलाई जंगलमा गएर बस्न बाध्य पारिएछ । यसरी घरबास बिहीन हुँदाको असह्य पीडा बोकेर उहाँको आमाले जेठो छोरोलाई लिएर काठमाण्डु (नेपाल) आई चिनेको मानिसको घरमा बस्न पुग्नु भएछ । धेरै दिनको प्रयास पछि बल्ल बल्ल एक दिन राजा त्रिभूवन समक्ष आफ्नो मर्काको बिन्ति चढाउनु भएछ र त्यो बिन्ति श्री ३ राणा प्रधानमन्त्री समक्ष तुरुन्त जाँदो रहेछ र अर्को दिनै भेट पाउनु भएछ । श्री ३ राणा प्रधानमन्त्रीको आदेशले उहाँको फर्जि आरोप र पीडा बुझेर सही सुनुवाइ गरी जायजाततायदात भएको सबै सम्पत्ति फिर्ता गर्ने फैसला भएछ । यो मुद्धामा तायदाति गरी जफत गरेको सम्पत्तिमा अन्न पात, वस्तु भाउ, भाँडा कुँडा हिनामिना भए पनि बस्ने घर र खेति गर्ने जग्गा जमिन फिर्ता पाइयो भनेर आफुलाई खुसि लागेको कुरा वताउनु भयो । उहाँले ती झुट्टा मुद्दा दिने व्यक्तिको अहितको बारेमा कहिल्यै कुनै शब्द निकाल्नु भएन । दैवको हुने हार त्यही थियो, त्यही भयो भन्दै यस्तो पीडा दिने शत्रु र उसको व्यवहारलाई सामान्य रुपमा लिनु भयो ।

लोकनाथ बुबाले अरुलाई अर्ति उपदेश दिंदा गरिव दिन दुःखीको ख्याल गर्नु । गरिव दिन दुःखीको सेवा गरेमा अरुको चित्त नदुखाएमा अरु धर्म गर्नु पर्दैन भन्नुहुन्थ्यो। हिकमत नहार्नु, आफ्नो कर्म गर्नु, एकदिन भगवानले हेर्दछन्। लेखेको नभै देखेको हुदैन । खान पाएँ भन्दैमा क्वाप्प नखानु, बस्न पाए भन्दैमा थ्याच्च नबस्नु, हेरेर खानु, हेरेर वस्नु भन्नु हुन्थ्यो । आफूले जति दुःख पाए पनि अरुलाई नदेखाउने जति सुख सम्मान पाए पनि नमात्तिने आदत उहाँको थियो । घरमा कुनै सहयोग लिन वा केही कुरा माग्न आउनेलाई केही न केही दिएर पठाउन आफै अगाडि सर्ने नसके अरुलाई अ¥याउने उहाँको बानी नै थियो। दान, धर्म, कर्म र परोपकारी भावनाले उहाँमा जरा गाडेको थियो । हृदयमा ईश्वरको बास भएर होला उहाँलाई कुनै वस्तु प्रति मोह थिएन नत कुनै वस्तु संग्रह गर्ने बानीनै थियो । आफूलाई जे वस्तु जस्तो सेवा र व्यवहार मिल्दछ त्यसैमा रमाउनु हुन्थ्यो । बृद्ध भत्ताको रुपमा प्राप्त रकम र छोरा बुहारी आफन्तबाट पाएको पैसा पनि उहाँले दिन दुःखीको सहयोग, दान दक्षिणा र धार्मिक कार्यमा खर्च गर्नु हुन्थ्यो । उहाँसँग धेरै दिन टिक्दैनथ्यो । घरमा आउने जो कोही पनि खाली मुख फर्कन हुदैन भन्दै केही खाएर जान सँधै आग्रह गर्नु हुन्थ्यो । आफनो सामु केही खाएको नदेखेमा तल भान्सामा गएर केही खाएर जाउ है भन्दै भान्सा र बैठक कोठामा सबैले सुन्ने गरी अह्राउनु हुन्थ्यो । उहाँको बोट बिरुवा लगाउने, चौपारी चिन्ने ,बटुवालाइ भोक प्यास सोध्ने र केही खुवाएर पठाउने गुल्मी देखिको संस्कार, बानी काठमाण्डौमा आए पछि पनि कायमै थियो । काठमाण्डौमा पनि उहाँले यस्तो कार्यमा दिलचश्वी राखेर अनुकुल हुँदा सक्दो कार्य गरेर छोडेर जानु भएको छ । यसको एक उदाहरण भुवनेश्वरी मन्दिरमा लगाएको रुद्राक्षको बिरुवा पनि छ ।

उहाँमा राज्यका प्रमुख व्यक्तिलाई ईश्वरले ठूलो शक्ति दिएका हुन्छन् यस्ता व्यक्तिको हातबाट दुर्गाको प्रसाद टिका थापेमा आफूमा पनि ठूलो शक्ति मिल्दछ भन्ने बिश्वास थियो । यही बिश्वासले उहाँले पंचायतकालमा राजासँग र बहुदल आए पछि प्रधानमन्त्रिबाट बडा दशैको टिका प्रसाद लगाउनु भएको थियो । हामीहरु २,४ दिनको लागि कहीं जाँदा उहाँबाट आशिरबाद लिएर जान मनले खोज्दथ्यो। उहाँलाइ भेट्न जान ढिलो हुँदा किन आएनौ ठाकुर भन्ने माया र स्नेहका शव्द व्यक्त गर्दै सुमसुमाउदै नजिकै बस्न आग्रह गर्नुहुन्थ्यो । धर्मकर्म प्रति उहाँको असाध्यै श्रद्धा थियो । देव कार्य, पितृकार्यदेखि चौरासी पूजा समेत श्रीमान् श्रीमती सँगै बसेर बढो आनन्दपूर्वक गरेको देखियो । बिहान उठेर आफ्नो नित्य कर्म गरेर मात्र चोखो मिठो खाने कुरा आफनो अर्धांगिनी समेतलाई सँगै राखेर खाने बानी थियो । बिदाको दिनमा उहाँलाई भेट्न आउनेको घरमा भिडभाडनै हुन्थ्यो । दशैंमात उहाँको हातको टिका लगाउन लाइननै बस्नु पर्दथ्यो । उहाँलाई भेटन आउने र जानेले ढोग नमस्कारले अभिवादन गर्दा उहाँबाट निस्कने आर्शिबचन र हस्तस्पर्शले मनमा आनन्द र शरीरमा सकारात्मक उर्जा प्रवाह हुन्थ्यो उहाँको यस्तै दैबि गुण र उर्जा शक्तिले होला उहाँका परिवारका सदस्यहरुको सबै पक्षमा राम्रो उन्नति प्रगति भएको, मान सम्मान पाउनु भएको देखिन्छ । उहाँसँग आउने इष्ट मित्र सबै भेटेर फर्कदा आनन्दित र प्रसन्न मुद्रामा रहेको पाइयो । मलाई लाग्छ उहाँको सुदृष्टिले करेशाबारीका सागपात र बोट बिरुवा पनि हरा भरा भएको फल फूलले बगैचा शोभायमान भएको थियो ।

निरक्षर भएर पनि स्व. लोकनाथ बुबा साक्षर जस्तो देखिनु हुन्थ्यो । दौरा सुरुवालको साथमा कोट इस्टकोट लगाएर चिटिक्क परेर बस्न उहाँलाई आनन्द लाग्दथ्यो । राष्ट्रिय पोशाकमा सजिएर वस्दा पढे लेखेको र ठूलै पदवाट अबकास लिएको व्यक्ति जस्तो देखिनु हुन्थ्यो । उहाँको लवाई खुवाई परिवारका सदस्यबाट भएको हेरचाह, स्याहार सुसार श्रीमतीको साथमा पटक पटक भएको बिदेश यात्रा तथा सबैबाट पाएको माया ममता श्रद्धा सम्मान सबै कुरालाइ हेरेर मनन गर्दा उहाँलाई म अतिनै भाग्यमानी व्यक्ति

मान्दछु । आफनो बृद्ध अबस्थामा आफना ३ छोरा र २ छोरीको बसोबास सुबिधा सम्पन्न स्थानमा भएको सबैले आनन्द साथ जीवनयापन गरेको देख्नु भयो थाहा पाउनु भयो। नाती नातिना स्वदेश तथा बिदेशमा सुखपूर्वक पेशा व्यवसायमा प्रगति गरेर बसेको समाचार सुन्ने अवसर पनि मिल्यो । यी सबै कुरा उहाँको लागि इश्वरको बरदान नै मान्नु पर्दछ । उहाँले ९६ वर्षको उमेर हुँदासम्म बिदेशमा बस्ने घुम्ने अबसर पाउनु भएको थियो । छोराहरु र धर्मपत्नीको साथमा उहाँले साउदी अरेविया, बेल्जियम, चीनको ल्हासा, बेलायत, डेनमार्क, थाईल्याण्ड, ओमान, इजिप्ट र अन्य बाटोमा पर्ने मुलुकहरुको अबलोकन र भ्रमण गर्नु भयो । उहाँको दम्पतिको अन्तिम बिदेश यात्रा र बसाई माइलो छोरासँग ईजिप्टमा भयो । त्यहाँ उहाँलाई राजदूतको बुबाको रुपमा मान मर्यादा सम्मान प्राप्त भएको थियो । काठमाण्डौमा रहँदा शुरुका वर्षहरुमा आफनो उमेर समुहका टोलका ज्येष्ठ नागरिकहरुसँग हिडडुल गर्ने आ–आफना बितेका कुराहरु गरेर रमाइलो गर्ने दैनिकी बनेको थियो । पछि उमेरले साथ दिन छाडेपछि दिनभर घरको बरण्डामा घाम तापेर आनन्दसाथ सुत्ने, नियमित रेडियो टिभिमा समाचार सुन्ने र रमाइलो कुरा गरेर बित्ने ग¥यो। शायद यही सन्तोष लिने आदतले होला ९८ वर्ष प्रवेश गर्दा पनि उहाँमा दम बाहेक अन्य दीर्घ रोग देखा परेन । उहाँलाई आफ्नो कान्छो छोरा समेत राजदूत नियुक्त भएको सुनेर सफल कार्यकालको शुभकामना दिंदै टिका र आशिर्वाद दिएर पठाएको १५ औं दिनमा उहाँको स्वर्गारोहण भयो । उहाँलाई कान्छो छोरा राजदूत नियुक्त भएको खवर सुनेपछि मात्र आफ्नो भौतिक शरीर छोडेर जाने भित्री इच्छा रहेछ। इश्वरले उहाँको ब्रह्मलिन हुनु भन्दा केही दिन अगाडि कान्छो छोरालाइ नेपाल सरकारको असाधारण तथा सर्वाधिकारसम्पन्न प्रतिनिधिको रुपमा ओमानको राजदूतमा बहाली गरेको सुनेर त्यो देह त्याग गर्ने संजोग मिलाइ दिनु भयो ।

उहाँले बिदेशमा र अस्पतालमा मर्न नपरोस छोरा र आफ्ना सन्तानको साथमा घरमै मर्न पाइयोस भनेर आफनो मनको ईच्छा पटक पटक प्रकट गर्नु भएको थियो । जीवनको अन्तिम अबस्थामा परमात्माले उहाँको इच्छा पूरा गरिदिनु भयो । घरका अधिकांश परिवार र इष्टमित्रको सामु सबैको हातबाट अन्तिम तुलसी र गंगाजल पिएर सबैले उहाँको स्वर्गवासको कामना गरी रहेको क्षणमा सहज र शान्त रुपमा द्वितीया तिथिको शुभ दिन, शुभ वेला पारेर दिनको उज्यालो प्रकाशमा भौतिक शरीर छोडेर महाप्रस्थान गर्नु भयो। आफ्नो माइलो छोराको घरमा उहाँले अन्तिम सास लिंदा उहाँको मुक्तिको लागि गीता र श्रीमद्भागवतका श्लोकहरु पढेर सुनाइएको थियो । पार्थिव शरीरलाई दाह संस्कारको लागि नजिकको श्री पशुपतिनाथको समिपको वागमती तटको आर्यघाटमा लैंजाँदा पालो नकुरिकन राज्यका उच्च व्यक्तिको अन्तिम संस्कार हुने स्थान मिलेको थियो । स्मरण रहोस हाल सो स्थानमा जो पहिला आउँछ उसले पहिले पाउने व्यवस्था गरिएकोछ । दागबत्ति दिने क्षणमा ठीक पारिपट्टी श्री पशुपतिनाथ तथा गंगाको सायंकालीन आरतीको वाताबरणले आर्यघाट पूरै सजिसजाउ र मंगल धुनले गुन्जायमान थियो । लाग्दथ्यो त्यो सन्ध्याकालीन आरती स्व. लोकनाथ बुबाको मुक्तिको लागि इश्वरबाटनै रचिएको थियो । उहाँको अन्तिम संस्कारका कार्यहरु निबिध्नतापूर्वक धेरै इष्ट मित्रको उपस्थिति र श्रद्धासाथ सम्पन्न भए ।

यस अबसरमा म आफनो सन्दर्भ पनि यहाँ जोड्न चाहान्छु । थर, गोत्र, जन्मस्थल आदि कुराहरु मेरो पृथक भएर पनि स्व. लोकनाथ बुबा मेरो हृदयमा वस्नु भएको मलाई महसुस भयो । चिनजान पछि उहाँ प्रति आदर, सम्मान श्रद्धा गर्न पाउँदा मेरो अन्तस्करण पुलकित हुन्थ्यो। यसो हुनुमा उहाँको म प्रतिको स्नेह, माया ममता, उहाँबाट पटकपटक प्रकट भएका आत्मीय भावका शव्दहरु थिए वा अरु इश्वरीय तत्वले पनि काम गरेको थियो त्यो म भन्न सक्दिन । उहाँलाई पहिलो भेट गर्दा उहाँबाट आत्मियजनलाई व्यक्त गर्दा प्रयोग हुने शव्दहरु मेरो लागि पनि व्यक्त भएका थिए । त्यस पछिका हरेक भेटमा पटकपटक उहाँबाट मैले ती शव्दहरु सुन्न पाएको थिए । मलाई उहाँको घरमा जाँदा साक्षात भगवानको अंशनै त्यो घरमा बास भएको होकि जस्तो भान हुन्थ्यो । यथार्थमा उहाँका शव्द र उहाँको आत्मिक स्नेहले गर्दा होला उहाँले भैतिक शरीर छोडेर जाँदाको क्षणमा र त्यस पछिका दिनहरुमा पनि ती शव्द र स्नेहको यादमा मेरा आँखा रसाउने र म निशव्द हुन पुग्दछु । शायद यस्तै कारणले होला उहाँले यस धर्तिबाट अन्तिम स्वास लिंदाको क्षणमा उहाँको जीवित शरीरको दर्शन गरी, पार्थिव शरीरको अन्तिम संस्कार कार्यमा सेवार्थीको रुपमा सरिक भएर उहाँप्रति श्रद्धा सुमन चढाउने अबसर मिलेको थियो । स्व. लोकनाथको आत्मले मलाई डोर्याएर उहाँको अन्तिम क्षणमा पु¥याएको पनि हुन सक्छ।

स्व. लोकनाथ बुबाको चेतन मन भन्दा अर्धचेतन मन अझ पवित्र र निर्मल भएर होला उहाँ कोमल हृदयका धनी सबैको आँखामा नबिझाउने स्वभाव र वानिको व्यक्तित्व हुनुहुन्थ्यो । त्यसैले गुल्मिमा जन्मीएर काठमाण्डौदेखि बिदेश यात्रा गरेर फर्केर आउँदाको जीवन यात्रामा र भौतिक देह त्याग गरेर अन्तिम संस्कार सम्मका कार्यमा पनि उहाँले सबैको माया स्नेह र सह्राना र राम्रो प्रशंसा पाउनु भयो । वास्तवमा उहाँ मानवरुपी भाग्यमानी पूण्य देवात्मा हुनुहुदो रहेछ । यस्तो निर्मल हृदय भएका पिता र अभिभावक पाउने उहाँका सन्तती असाध्यै भाग्यमानी हुनुहुन्छ । यस्तै उहाँ जस्ता पूण्य आत्माको सुदृष्टी आशिरवचन पाउने हामी इष्टमित्र बन्धु वान्धब पनि धेरै थोरै भाग्यको अधिकारी हुन पायौं भन्दा अत्यूक्ति नहोला । यस्ता व्यक्तिको जीवनगाथा र अन्तिम क्षणको सानो अंश केलाएर मनन गर्दा अनि पढे सुनेका धार्मिक ग्रन्थका कुराहरुलाइ सम्झँदा साच्चैनै लोकनाथ बुबाको दिवंगत आत्मा मुक्ति मार्गतर्फ प्रस्थान गरेको होला भन्ने मेरो अन्तरमनको विश्लेषण रहेकोछ । यस्ता व्यक्तिका सदगुणहरु मध्ये थोरै गुणमात्र भए पनि आफनो जीवनमा उतार्न सक्यौं भने उहाँप्रतिको सच्चा श्रद्धा सुमन त्यही हुनेछ आफ्नो जीवन पनि धन्य हुनेछ । अन्तमा उहाँबाट प्राप्त अर्ति उपदेश र आशिरवादका लागि उहाँमा नमन गर्दै श्रद्धापुस्प चढाउछु । यस्ता पुण्यआत्माको बारेमा केही कुराहरु लेख्ने अबसर र उत्प्रेरणा प्रदान गर्नु हुने आदरणीय श्री झविन्द्रप्रसाद अर्याल प्रति आभार व्यक्त गर्दै आफ्नो लेखबाट बिश्राम लिन चाहान्छु ।

समाप्त

२०८० ज्येष्ठ

श्रद्धेय अर्याल बुबालाई सम्झदा

– कुलराज ज्ञवाली, लिकमार्ग

हाम्रा अगाध स्नेहका खानी प्रातः स्मरणीय श्रद्धेय बुबा लोकनाथ अर्याल ब्रह्मलिन हुनु भएको एक वर्ष व्यतीत भइसकेकोछ। उहाँको व्यक्तित्व, हामीलाई गर्ने स्नेह र उहाँका प्रेरक प्रसङ्गहरू हाम्रो मानसपटलमा  ताजा छन् र रहिरहने छन् ।

उहाँले ९७ वर्षको प्रेरक दीर्घ जीवन जिउनु भयो जुन सामान्य मानिसका लागि दुर्लभ हो । अन्तिम समयसम्म सबैलाई चिन्ने, राम्रोसँग कुरा गर्ने, कानले राम्रोसँग सुन्ने र आँखाले राम्रोसँग देख्न सक्ने सौभाग्यशाली हुनुहुन्थ्यो हाम्रा अर्याल बुबा ।

हाम्रो घर र उहाँको घर बाटो वारी र पारी पर्ने भएकोले हामी (म र मेरो श्रीमती कमला) लाई हाम्रो घरको कौसीमा देख्नासाथ बोलाइहाल्नु हुन्थ्यो । दैनिक हालखबर सोध्नु हुन्थ्यो । उहाँलाई कौसीमा देख्नासाथ हामी पनि बुबालाई अभिवादन तथा भलाकुसारी गर्थ्यौं र फुर्सद हुनासाथ बुबासँग गई हाल्थ्यौँ कुनै दिन हाम्रो भेट हुन सकेन भने बुबाले हाम्रो खोजी गरिहाल्नु हुन्थ्यो ।

अर्याल बुबा स्वर्गारोहण हुनुभन्दा अघिल्लो वर्षको कुरा हो। म र कमला बुबाको जन्म दिनमा शुभकामना दिन गएको बेला मैले बुबालाई हजुर सय वर्ष पुगेपछि रथमा परिक्रमा गर्नु पर्छ, हजुरलाई देखेपछि सबैलाई प्रेरणा र हौसला बढ्छ भनेको थिए तर विधिको विडम्बना त्यो पूरा हुन सकेन। उक्त दिन बुबालाई मैले उहाँको जीवनका केही संस्मरण सुनाउन अनुरोध गरें । बुबाले एक जना हात हेराउने ज्योतिषीले भनेका दुईओटा कुराको प्रसङ्ग सुनाउँदै ती कुरा आफ्नो जीवनकालमा साँचो ठहरिएको बताउनु भयो। पहिलो कुरा हात हेराउने ज्योतिषीले उहाँलाई बहुविवाहको योग भएको भनेका रहेछन् । बहुविवाह गर्न नपरोस् भनी आँकसँग तीन पटकसम्म विवाह गरेर दोष कटाएँ। दोश्रो विवाह गर्न परेन बाबु भन्नु भयो। हुन पनि उहाँ धेरै भाग्यमानी हुनुहुँदो रहेछ। बाँचुन्जेल आफ्नो जीवनसंगिनीसँग कहिल्यै बिछोड हुनु परेन। जीवनमा यति धेरै बाँचुन्जेल आफ्नो जीवनसंगिनीसँग साथै बस्न पाउने भाग्य पनि दुर्लभ हो र सारै कम मान्छेले मात्र यस्तो सौभाग्य पाउँछन् ।

दोश्रो कुरा हात हेराउने ज्योतिषीले बुबालाई आकाशमा धेरै उड्न पाउने भाग्य छ भनेका रहेछन् । त्यो कुरा पनि बुबाको जीवनमा साँचो ठहरियो । बुबाका दुईभाई होनाहार छोराहरू जो दुबै नेपाल सरकारको राजदूत जस्तो उच्च एवं गरिमामय पदमा पुग्नु भयो । आफू विदेशमा जहाँ जाँदा पनि बुबा आमालाई साथै लिएर गई आफैसाथ राख्नु भयो, सेवा सुश्रुषा गर्नु भयो । मलाई सम्झना भएसम्म बुबा आमा साउदी अरेबिया, चीनको ल्हासा, बेल्जियम, थाइल्याण्ड,  बेलायत (संयुक्त अधिराज्य), डेनमार्क, ओमान र इजिप्टमा बस्नु भएको थियो ।

बुबाले ९७ वर्षसम्मको दीर्घ जीवन जिउन सक्नुमा के के कुराले साथ दियो त भनी बुबाको जीवन शैली लाई सरसरती अध्ययन गर्दा मैले केही प्रेरक तथ्यहरू देखेको छु, जुन कुराहरू हाम्रो जीवनका लागि पनि अत्यन्त महत्वपूर्ण प्रेरणाका श्रोत हुन सक्छन् । ती कुराहरूलाई बुँदागत रुपमा तल प्रस्तुत गर्ने जमर्को गरेको छु ।

१. सकारात्मक सोंच

बुबाको सबैभन्दा ठुलो गुण सकारात्मक सोंच हो । उहाँ सधै सकारात्मक सोंच र आशावादी व्यक्तित्वका धनी हुनुहुन्थ्यो। सँधै भन्नु हुन्थ्यो कि बाबु धेरै बाच्नु पर्छ जीवनमा धेरै कुरा देख्न पाइन्छ।आफूले जीवनका भोगाइहरू र हालको अवस्थामा भएको परिवर्तनको बारेमा भन्नु हुन्थ्यो यी सबै राम्रा कुरा बाँचेको भएर नै देख्न पाइएको हो ।

२. आत्मा सन्तुष्टि

कहिले पनि असन्तोष व्यक्त नगर्ने र कसै प्रति गुनासो नगर्ने आदत। यो सुन्दा जति समान्य कुरा जस्तो लाग्छ जीवनमा अनुपालन गर्न त्यतिकै कठिन छ । सुख शान्तिपूर्वक जीवन जिउनुमा यसले ठूलो भूमिका खेल्दो रहेछ भन्ने कुरा श्रद्धेय अर्याल बुबाबाट अनुभूति भएको छ ।

३. छोरा, बुहारीहरूको साथ, सेवा र माया

वृद्ध अवस्थामा जुन बेला अर्काको सहारा र मायाको खाँचो पर्छ त्यति बेला आफ्ना सन्ततीको साथ, सेवा र मायाले दीर्घ जीवन जिउनुमा ठूलो भूमिका खेल्छ भन्ने कुरा सुनेको थिएँ तर अर्याल बुबालाई उहाँका छोरा बुहारीहरूले गर्नु भएको सेवा र माया व्यवहारमै देख्ने मौका पाएकोले यो कुरा प्रमाणित भएको छ । उहाँ प्रति उहाँका छोरा बुहारीहरूले गर्ने सेवा र माया उदाहरणीय एवं सह्रानीय र अझ भनौँ अनुकरणीय थियो जसले गर्दा बुबालाई बाँचुन्जेल कुनै कुराको अभाव र कठिनाइ थिएन ।

अन्तमा

अर्याल बुबाका जीवनका प्रेरक प्रसङ्गहरू, जीवनशैलीले हामीमा अमिट छाप छोडेका छन् । बुबाको भौतिक शरीर आज हाम्रो साथ नरहे पनि उहाँको माया र आशीर्वाद हामीलाई सधै प्राप्त भइरहोस् र बुबाको स्वर्गवासी जीवन सदा आनन्दमय रहोस्, भगवानसँग यही हाम्रो प्रार्थना छ ।

Read PDF with photos!!